२०८३ बैशाख १७
बुटवल १७ बैशाख ।
तिनाउ गाउपालिका पाल्पा स्थीत तिनाउ खोलामा हाइड्रोपावर निर्माण गरिने भएको छ । भिजन लुम्बिनी लिमिटेडद्वारा प्रवद्धित ३.४४ मेगावाटको नमः बुद्ध हाइड्रोपावर निर्माणको प्रक्रिया अगाडी बढेको हो ।
पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा बन्ने आयोजनाको लागत अनुमान ७० करोड रहेको छ । भिजन लुम्बिनीका अध्यक्ष जगतहादुर पोखरेलले आयोजना १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन् । भिजन लुम्बिनीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानाकारी अनुसार आयोजनाको लुम्बिनी विकास बैंकसँग सम्झौता गरी स्रोत सुनिश्चितता भइसकेको छ ।
भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले सामूहिक लगानी, समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना निर्माण अघि बढेको बताए ।
हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षको काम सकिएको छ । भिजनले कास्कीमा २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
भिजनले अहिले १० वटा भन्दा पनि धेरै प्रोजेक्टमा लगानी गरी काम गरिरहेको छ । लिमिटेडका बोर्ड सदस्य राजीव गौतमले थप हाइड्रोपावर निर्माण गर्न काम अघि बढाउने प्रक्रियामा रहेको बताए । भिजनले अहिले देशका विभिन्न ठाउँमा हाइड्रो, हस्पिटालिटी र आईटी क्षेत्रमा लगानी गरिरहेको छ ।
