२०८२ माघ २६
बुटवल ।
बुटवलमा यही बैशाख १३ गते सुन पसलमा चोरी गरी फरार रहेका तीनजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. ६ बि.पी. चोक स्थित दिल बहादुर सुनारले संचालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी गर्नेहरु पक्राउ परेका हुन ।
ईलाका प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटि गएको प्रहरी टोलिले खोजतलासको क्रममा सोमवार साझ साढे ५ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.–४ महुवारी स्थित खुनगाई कालीदह सडक खण्डबाट तीन जना पक्राउ परेका हुन । सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको युपी ३२ एल डब्लु ३१५१ नमवरको सवारीमा सवार रहेका मोहसिन अब्दुल्ला खान, मोहद जीशान खान, मो सारीकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई खानतलासी गर्दा निजहरुको साथवाट १०÷१० ग्रामको सुनको बिस्कुत थान–२, २० ग्रामको सुनको बिस्कुत थान–१, सुनको गरगहना गाली डल्लो बनाएको सुनको ढिक्का थान–१, सुनको पैसाको सिक्का आकारको गोलो थान–१, मोबाईल थान–३, नगद भा.रु. १ सय को नोट ६० वटा, आधार कार्ड, एटीएमा कार्ड फेला पारी पक्राउ गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । तीन करोड मुल्यको सुन चोरी भएको बताइए पनि प्रहरीले बरामद गरेको सुन भने निकै कम रहेको छ । निजहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ ।
पक्राउमा परेका व्यक्तिहरु –
१. भारत जौहरी मोहल्ला चौँक लखनउ चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ को मोहसिन अब्दुल्ला खान ।
२. भारत साई एन्क्लेव गोमती बिहार कालोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ को मोहद जीशान खान ।
३.भारत तकिया पेपर मिल कालोनी सी ब्लाँक –२ निशात गँज महानगर लखनउ उत्तर प्रदेश बस्ने वर्ष २२ को मो सारीक ।