२०८३ बैशाख ३१

रुपन्देही उद्योग संघको टोली संस्थागत अवलोकन भ्रमणमा
  • लुम्बिनी खोज
  • २०८३ बैशाख ३१, बिहीबार १३:४६ गते

बुटवल ।
रुपन्देही उद्योग संघको टोली २०८३ वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म संस्थागत भेटघाट तथा अवलोकन भ्रमणमा निस्केको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको संयोजनमा निस्केको भ्रमण टोलीमा निवर्तमान अध्यक्ष दिलिप सापकोटा, सल्लाहकार ऋषि भण्डारी, ज्ञानप्रसाद अर्याल, लालहरि पाण्डे, रामप्रसाद आचार्य सहित पदाधिकारी, सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहेका छन् ।
संघले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार भ्रमण टोली वैशाख ३० गते बिहान प्रस्थान गरेको छ । टोलीले लमजुङ उद्योग वाणिज्य संघ बेसीशहरमा परिचय तथा भेटघाट कार्यक्रमपछि टोली घलेगाउँतर्फ प्रस्थान गर्नेछ । वैशाख ३१ गते बिहान भुजुङ गाउँ भ्रमण कार्यक्रमपछि टोली पुनः घलेगाउँ फर्किने र दिउँसो गोर्खाको कुरिनटार फर्कने छ । संघका अनुसार भ्रमणले उद्योगी–व्यवसायीबीच अनुभव आदान–प्रदान, पर्यटन प्रवद्र्धन तथा संस्थागत सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।