२०८३ जेष्ठ ७

उद्योग संघमा महिला उद्यमी समिति
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ ७, बिहीबार १३:३२ गते

बुटवल, ७ जेठ ।

रुपन्देही उद्योग संघले वस्तुगत समिति गठन र संजाल विस्तारको प्रक्रियालाई निन्तर अगाडि बढाउँदै गएको छ । हालसम्म ११ वटा वस्तुगत समिति गठन भइसकेका छन् । यसै शिलशिलामा महिला उद्योगीहरुको भेलाले महिला उद्यमी समिति गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले महिलाहरुको आर्थिक तथा सामाजिक विकासमा सहभागिता र सक्रियता जरुरी भएको हुँदा महिलाहरुलाई अवसर र जिम्मेवारी दिनु पर्ने कुरामा रुपन्देही उद्योग संघ सधैं प्रतिवद्ध रहेको बताए । उनले उद्योग संचालनमा महिलाको सहभागिताले धेरै सुधार गर्न सकिने विश्वास व्यक्त गर्दै महिला उद्यमीहरुको संरक्षण र विकासका लागि राज्यले छुट्टै सहुलियतको नीति लिनु पर्ने धारणा राख्दै महिलाहरुको आय बृद्धि र क्षमता विकासका लागि एक भएर अगाडि बढ्न जरुरी रहेको बताए । महिला उद्यमीहरुका समस्या उजागर गरी त्यसको समाधानका लागि पुलको रुपमा काम गर्न महिला उद्यमी समितिलाई उनले आग्रहपनि गरे ।
संघका प्रथम उपाध्यक्ष तथा वस्तुगत समिति गठनका संयोजक हरि बहादुर खत्रीले वस्तुगत समिति गठनको उद्देश्य, काम कर्तव्य र अधिकारका बारेमा महिला उद्यमीहरुलाई जानकारी गराएका थिए ।
संघको सचिवालयमा सम्पन्न महिला उद्योगीहरुको भेलाले लुम्बिनी होजियारी एण्ड पोशाक उद्योगकी निर्मला भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा बिन्दवासिनी ब्याग उद्योगकी शारदा वस्याल, सचिवमा नवदुर्गा मौरी फर्मका कमला पन्थ सदस्यहरुमा न्यू लक्ष्मी सःमिलकी लालुमाया थापा, कलौनी ग्रिल उद्योगकी देवी कार्की र तिलोत्तमा सर्फ उद्योगकी सुना श्रीस र हरि हस्तकला उद्योगकी हरिकला मल्ल रहेका छन् । समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, महिला सचिव मन्जु भुसाल, सचिवालय सदस्य शारदा भट्ट्राई, कार्य समिति सदस्य दिलु शाही, पार्वती गिरी, पूर्व कार्यसमिति सदस्यहरु रेनुका खरेल,सरला भण्डारी र मिना थापा रहेका छन् ।
भेलामा निवर्तमान संयोजक पार्बती गिरीले २०८०÷२०८२ समिति एवं सल्लाहकारहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् । नव निर्वाचित संयोजक भट्टराईले महिला उद्योगीहरुले विश्वास गरी संयोजकको जिम्मेवारी दिएकोमा आभार व्यक्त गरिन् । महिला उद्यमीहरुका लागि राज्यले ध्यान कम दिएको गुनासो गर्दै आप्mनो अधिकारका लागि एक भएर अगाडि बढ्नुको बिकल्प नभएको बताइन् । महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्ने, महिला उद्यमीहरुका समस्या समाधाका लागि निरन्तर पहल गर्ने साथै अभिभावक संस्था रुपन्देही उद्योग संघसँग सहकार्य गरी आवश्यक पर्ने तालिम गोष्ठी साथै अन्य कार्यक्रमको आयोजना गर्ने प्रतिवद्धता उनले व्यक्त गरिन् ।
कार्यक्रममा सचिवालय सदस्य शारदा भट्ट्राईले महिला उद्यमी समिति क्रियाशिल र रचनात्मक रुपमा अगाडि बढ्ने विश्वास सहित शुभकामना दिइन् ।
संघकी महिला सचिव मञ्जु भुसालको संचालन र कार्यसमिति सदस्य दिलु शाहीले धन्यवाद ज्ञापनमा सम्पन्न भेलामा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, द्वितीय उपाध्यक्ष युवराज आचार्य, कोषाध्यक्ष बिशाल वेलवासे,सचिवालय सदस्य शारदा भट्ट्राइ, का.स.सदस्य,लाल प्रसाद बस्याल, दिलु शाही र महिला उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।