२०८३ जेष्ठ २३

नेपाल–भारत आर्थिक सहकार्यका लागि पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा जोड
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ २२, शुक्रबार १५:४३ गते

बुटवल २२ जेठ ।
नेपाल– भारत द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल– भारत आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरु सहभागि कार्यक्रममा द्धिपक्षिय आर्थिक सम्बन्धका विषयमा गहन छलफल भएको हो ।
भारतको गोरखपुरमा भएको कार्यक्रममा भैरहवा स्थीत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवद्र्धन, भैरहवा विशेष आर्थिक क्षेत्र सेजमा लगानी विस्तार, व्यापार सहजीकरण तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्ने र रेलवे कनेक्टिभिटी विस्तारलाई विशेष जोड दिनुपर्ने निष्कर्ष निकालिएको नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले बताए । कार्यक्रममा एआई प्रविधि, डिजिटल भुक्तानी, सीमा व्यापार, जैविक उत्पादन, नेपाली कफी तथा आयुर्वेदको प्रवद्र्धनसँगै सुरक्षा चुनौती न्यूनीकरण र भारतीय विशाल बजारमा नेपाली साना उत्पादनहरूले निर्यातका क्रममा भोग्नुपरेका बाधाहरुप्रति पनि छलफल भएको र आगामी दिनमा नीतिगत सरलीकरण र सहज बजार पहुँचका लागि जोड दिइएको थियो ।
भारतको गोरखपुरमा पीएचडी चेम्बर अफ कर्मस एण्ड इण्डष्ट्रीज तथा भारतीय दूतावासको सहकार्यमा आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६’ अन्तर्गत भएको राउण्ड टेबल छलफलमा सहभागीहरूले नेपाल–भारतबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा भैरहवा स्थीत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्ने देखि विमानस्थल प्रभावकारी रूपमा सञ्चालन हुन सके लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, होटल व्यवसाय तथा लगानी प्रवद्र्धनमा उल्लेखनीय टेवा पुग्ने सम्मका कुरा उठाइएको थियो ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेकोमा जोड पनि दिइएको छ । त्यस्तै लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथलाई जोडेर संयुक्त बौद्ध पर्यटन सर्किटको प्रवद्र्धन गर्न सके दक्षिण एशियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य निर्माण गर्न सकिने कुरा पनि राखेको नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले बताए ।
भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेजमा भारतीय उद्योग तथा लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण र व्यवसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने देखि सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन र निर्यात प्रवद्र्धनका कार्यक्रम अघि बढाउनुपर्ने विषय पनि उठाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कृष्णप्रसाद शर्माले नेपाल –भारत आर्थिक सम्वन्धका बारेमा चर्चा गरेका थिए । भारत–नेपाल केन्द्र, पीएचडी चेम्बर अफ कर्मस एण्ड इण्डष्ट्रीजद्वारा आयोजित कार्यक्रममा अतुल कुमार ठाकुर, भारत–नेपाल केन्द्र, पीएचडी चेम्बर अफ कर्मस एण्ड इण्डष्ट्रीजका को–चेयर कामलेश जैन, भारतस्थित नेपाली दूतावासका तारानाथ अधिकारी र आर्थिक काउन्सिलर डा.सुरेन्द्र थापालगायतले सम्बोधन गर्दै भारत–नेपाल आर्थिक सम्बन्ध सुदृढीकरण र सहकार्य विस्तारमा जोड दिएका थिए ।