२०८३ जेष्ठ ३१
बुटवल ३० जेठ ।
सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा आयोजित स्टेम प्रतियोगिता कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक हरिलाल अर्यालले विद्यार्थीहरूको विज्ञान ,प्रविधि, इन्जिनियरिङ, कला र गणित विधामा प्रतिस्पर्धा गराउने कार्यक्रम अमेरिकाबाट सुरु भएको र पछि यसमा कला थप गरिएको र यस विधाले नै संसार चलाउने पेशा प्रति प्रतिबद्धता गराउने धारणा व्यक्त गरे।
रुपन्देही र नवलपरासी पश्चिम जिल्लामा कक्षा ११ र १२ विज्ञान समूहमा अध्ययनरत र प्राविधिक धारतर्फ कक्षा ११र १२ सञ्चालन भएका विद्यालयहरू बीचको प्रतियोगितामा जनसेवा मावि सुनवल पश्चिम नवलपरासी प्रथम ,जगन्नाथ मावि सुनवल पश्चिम नवलपरासी द्वितीय, नवीन औद्योगिक कदरवहादुर रिता मावि बुटवल तृतीय भएका छन्।
सामाजिक विकास डिभिजन कार्यालय भैरहवा रूपन्देहीका कार्यालय प्रमुख हरिबहादुर बिष्टको अध्यक्षतामा, शाखा अधिकृत भागिरथ अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विज्ञको रूपमा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हरिबहादुर बिष्टको संयोजकत्वमा सीप विकास कार्यालय बुटवलका मेकानिकल इन्जिनियर शिवकुमार पगेनी, शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका शाखा अधिकृत सुवास चन्द्र गौतम र देवदह नगरपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापा मूल्याङ्कन समितिमा रहेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासीका शाखा अधिकृत सुभाष चन्द्र गौतम ,नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत ,सामाजिक विकास डिभिजन कार्यालयका लेखा अधिकृत टोप प्रसाद पोखरेललगायतले धारणा राखेका थिए । कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक हरिलाल अर्याल र सामाजिक विकास डिभिजन कार्यालय प्रमुख हरिबहादुर बिष्टले प्रथम ,द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरुलाई १० हजार ७ हजार र ५ हजार नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।



