२०८३ असार २७
बुटवल, २७ असार ।
शिवनगर सामुदायिक वन उपभोक्ता समूह, बुटवलले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत सेवा क्षेत्रभित्रका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई कम्बल वितरण गरेको छ।
समूहले बुटवल उपमहानगरपालिका–७, ८, ९ र ११ अन्तर्गत रहेका सामुदायिक माध्यमिक विद्यालयका दुई–दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराएको हो। प्रत्येक विद्यालयलाई २० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यालयहरूमा नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय, प्रगति माध्यमिक विद्यालय, सिद्धेश्वरी लालकुमारी माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालय रहेका छन्। नवीन औद्योगिक कदरबहादुर रिता माविबाट व्यवस्थापन संकाय कक्षा १२ मा अध्ययनरत अङ्कित भुसाल र शिवानी पाण्डे छात्रवृत्तिबाट लाभान्वित भएका छन्।
त्यसैगरी, सन्तोषीमाता गुरुकुल विद्यापीठमा अध्ययनरत ३० जना विद्यार्थीलाई कम्बल वितरण गरिएको छ।
सन्तोषीमाता गुरुकुल विद्यापीठमा आयोजित कार्यक्रममा शिवनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनोज गौचनको अध्यक्षता तथा सचिव श्यामकला आचार्यको सञ्चालन रहेको थियो। कार्यक्रममा सामुदायिक विद्यालयका तर्फबाट नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत तथा नीलकण्ठ बाबाधामका महासचिव दण्डपाणि पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
शिवनगर सामुदायिक वन उपभोक्ता समूहले हरेक वर्ष आफ्नो सेवा क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई नियमित रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ।
कार्यक्रममा समूहले शिवनगर सामुदायिक वनसहित अन्य वन क्षेत्रमा वन डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि व्यापक जनचेतना फैलाउन सबै सरोकारवालासँग विशेष आग्रह पनि गरेको थियो।
कार्यक्रममा शिवनगर सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरू, छात्रवृत्ति प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विद्यार्थीका अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


