२०८३ भाद्र २

पत्रकार महासंघ कपिलवस्तुको १२औँ साधारणसभा सम्पन्न
  • लुम्बिनी खोज
  • २०८३ भाद्र २, मंगलवार ०९:०९ गते

प्रविधिमैत्री र जिम्मेवार पत्रकारितामा जोड

कपिलवस्तु, १ भदौ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १२औँ साधारणसभा सम्पन्न भएको छ। साधारणसभाका अवसरमा शाखाले निर्माण गरेको नयाँ आधिकारिक वेबसाइटको औपचारिक शुभारम्भ गर्दै शाखालाई प्रविधिमैत्री तथा सूचनामैत्री बनाउने अभियान थालिएको घोषणा गरिएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारहरूले आफ्नो ज्ञान, सीप र क्षमता निरन्तर अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याए। प्रविधिको प्रयोग बढ्दै जाँदा पत्रकारिता क्षेत्रमा नयाँ चुनौतीसमेत थपिएको उल्लेख गर्दै उनले सत्य, तथ्य र जिम्मेवार समाचार सम्प्रेषणमा विशेष ध्यान दिन सञ्चारकर्मीलाई आग्रह गरे।

कपिलवस्तु शाखाले वेबसाइट निर्माण गरी प्रविधिमैत्री पत्रकारितातर्फ अघि बढेकोमा प्रशंसा गर्दै महासचिव दाहालले शाखाका गतिविधि देशमै नमुनायोग्य रहेको बताए। उनले आगामी दिनमा पत्रकारको पेशागत सुरक्षा तथा सञ्चारमाध्यमको संरक्षणका लागि महासंघ निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

उनले सञ्चार क्षेत्र गम्भीर आर्थिक तथा भौतिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै राज्यले सञ्चारमाध्यमको संरक्षण र पत्रकारको न्यूनतम पेशागत सुरक्षासमेत सुनिश्चित गर्न नसकेको बताए।

स्थानीय विकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले समाजको सकारात्मक रूपान्तरण तथा स्थानीय विकास निर्माणका गतिविधि उजागर गर्न सञ्चार क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताए।

स्थानीय तहका गतिविधि, विकास निर्माण तथा सामाजिक विकृतिविरुद्ध कपिलवस्तुका पत्रकारहरूले निर्वाह गर्दै आएको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्दै उनले महासंघ कपिलवस्तु शाखाले सञ्चालन गरेका रचनात्मक गतिविधि अनुकरणीय रहेको बताए।

जिल्लाको समग्र विकास, सुशासन र पारदर्शिता प्रवद्र्धनका लागि जिल्ला समन्वय समिति सञ्चार क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न सधैँ प्रतिबद्ध रहेको उनको भनाइ थियो।

यस्तै, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह र विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले आधुनिक प्रविधिले सूचना प्रवाहलाई तीव्र र सहज बनाए पनि भ्रम फैलिने जोखिमसमेत बढाएको बताए।

उनीहरूले प्रविधिको सदुपयोग गर्दै सञ्चारमाध्यम तथा पत्रकारले समाचार सम्प्रेषणअघि सत्यता परीक्षण गर्नुपर्नेमा जोड दिए। स्थानीय तहका विकास निर्माण, सुशासन तथा रचनात्मक गतिविधि जनमानससम्म पुर्‍याउन स्थानीय सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै उनीहरूले महासंघले स्थानीय तहसँग समन्वय गरी सञ्चारमाध्यमको संरक्षण, संवद्र्धन र दिगोपनका लागि गरेको पहल सराहनीय रहेको बताए।

तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शान्ति, सुरक्षा, सुशासन र नागरिक अधिकारका विषयमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

प्रशासन तथा सुरक्षा निकायका कामकारबाहीबारे नागरिकलाई सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले समाचार सम्प्रेषण गर्दा तथ्य पुष्टि र स्रोतको विश्वसनीयतालाई प्राथमिकता दिन आग्रह गरे। गलत सूचना र अपुष्ट समाचारले समाजमा भ्रम सिर्जना गर्न सक्ने भएकाले जिम्मेवार पत्रकारिता आवश्यक रहेको उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्य रामराज पोख्रेल तथा लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले सञ्चार क्षेत्रले सामना गरिरहेको वर्तमान संकटप्रति गम्भीर चिन्ता व्यक्त गरे।

उनीहरूले कपिलवस्तु शाखाले सुरु गरेको नयाँ डिजिटल यात्राले सूचना प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए। साथै श्रमजीवी पत्रकारको हकहित, पेशागत मर्यादा तथा क्षमता विकासका लागि महासंघ निरन्तर अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष बसन्त गिरी, प्रहरी उपरीक्षक मनोहर भट्ट, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी, संस्थापक अध्यक्ष नारायणप्रसाद पौडेल, पूर्व अध्यक्षहरू भेषराज पाण्डे र मनोज पौडेल, निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य, शाखा सल्लाहकार पार्वती पाण्डे, जिल्ला गैरसरकारी संस्था महासंघका अध्यक्ष जे.पी. पाण्डे, तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए।

उत्कृष्ट पत्रकारलाई सम्मान तथा पुरस्कार

शाखा अध्यक्ष डिलाराम भुसालका अनुसार साधारणसभाका अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने उत्कृष्ट पत्रकारलाई नगद राशिसहित पुरस्कृत तथा सम्मान गरिएको छ।

उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार जानु पाण्डे र गीता पौडेल सम्मानित भएका छन्। यस्तै, पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेकोमा रेडियोकर्मी भूपाल थापा र तुलसीराम यादवलाई नगद राशिसहित विशेष शैक्षिक सम्मान प्रदान गरिएको छ।

पत्रकार दुर्घटना कोषका लागि सहयोग गर्ने जिल्लाका सातवटा स्थानीय तहलाई पनि कदरपत्रसहित सम्मान गरिएको शाखाले जनाएको छ।

१३ बुँदे घोषणा–पत्र जारी

साधारणसभाले नेपाली पत्रकारिता क्षेत्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा, श्रमजीवी पत्रकारका अधिकार तथा कपिलवस्तुका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाको संरक्षण र विकासलगायत विषयमा गम्भीर छलफल गर्दै १३ बुँदे घोषणा–पत्र जारी गरेको छ।

कार्यक्रम शाखा अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष खगप्रसाद चापागाईंले स्वागत मन्तव्य दिएको कार्यक्रममा सचिव सनी उल्ला धोबीले सञ्चालन गरेका थिए।