२०८३ भाद्र ६

कालिका मानवज्ञानमा कक्षा ११ का विद्यार्थीलाई स्वागत, निवृत्त शिक्षकलाई विदाइ
  • लुम्बिनी खोज
  • २०८३ भाद्र ५, शुक्रबार १५:५० गते

नवआगन्तुक शिक्षकको स्वागतसँगै विद्यार्थीका सांस्कृतिक प्रस्तुतिले कार्यक्रम आकर्षक

बुटवल, ५ भदौ । नेपालकै अग्रणी शैक्षिक संस्था कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा कक्षा १२ का विद्यार्थीहरूले नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा सम्मान गरेका छन्।

विद्यालयको कालिकानगरस्थित प्राङ्गणमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको हो।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका शाखा अधिकृत खुमन गैरे, पूर्वप्रधानाध्यापक तथा हाल बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू होमबहादुर गलामी, नित्यानन्द ज्ञवाली र रामचन्द्र क्षेत्री तथा बुटवल उपमहानगरपालिकाका शिक्षा अधिकृत कोपिला ज्ञवालीलगायतको विशेष आतिथ्यता रहेको थियो।

कक्षा १२ विज्ञान समूहका विद्यार्थी सुदर्शन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कक्षा १२ व्यवस्थापन समूहका विद्यार्थी शशी धिताल र युवराज बन्जाडेले गरेका थिए। कक्षा १२ व्यवस्थापन समूहकी विद्यार्थी प्रतिभा भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन्।

निवृत्त शिक्षकलाई सम्मानसहित विदाइ

कार्यक्रममा विद्यालयमा लामो समय अध्यापन गरी निवृत्त भएका शिक्षकहरू लोकराज घिमिरे, दीपक ज्ञवाली, भुवन गिरी र मधुसुदन बेलबासेलाई विदाइ गरिएको थियो। साथै विद्यालयमा नयाँ जिम्मेवारीसहित आएका शिक्षकहरूलाई स्वागत गरिएको थियो।

विद्यालयका अध्यक्ष तेजेन्द्र खनाल, शिक्षक–अभिभावक संघका अध्यक्ष इन्द्रमणि अर्याल, विशिष्ट अतिथि घनश्याम पाठक, पूर्वसहायक प्रधानाध्यापक लोकराज घिमिरे, प्रधानाध्यापक विष्णुहरि ज्ञवाली तथा प्रमुख अतिथि खेलराज पाण्डेयलगायतले नवआगन्तुक विद्यार्थीलाई शब्दगुच्छासहित स्वागत गर्दै उनीहरूको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेका थिए।

वक्ताहरूले विद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप उचाइमा पुर्‍याउन विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले आगामी दिनमा विद्यालयले अझ उत्कृष्ट प्रगति गर्ने विश्वाससमेत व्यक्त गरे।

गायन, कविता र सांस्कृतिक प्रस्तुतिले रौनक

स्वागत तथा सम्मान कार्यक्रममा विद्यार्थीहरूले गायन, कविता लगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यार्थीका प्रतिभामूलक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो।

विद्यालयको अतिरिक्त क्रियाकलाप प्रमुख विवेकराज पोख्रेलले कार्यक्रमको संयोजन गरेका थिए।