२०८३ भाद्र ८
ग्रामीण समुदायको स्वास्थ्य पहुँच बढाउन यस्ता शिविर प्रभावकारी हुने नगरप्रमुख श्रेष्ठको भनाइ
अर्घाखाँची, ७ भदौ ।
ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र पश्चिम नेपाल विकास ट्रष्ट (डब्लुएनडीटी)को आयोजनामा सन्धिखर्क नगरपालिका–११, डिभर्नास्थित विजय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
इलाइट हेल्थ क्लिनिक, बुटवलको प्राविधिक सहयोग तथा सन्धिखर्क नगरपालिका, डिभर्ना स्वास्थ्य चौकी र वडा नं. ११ कार्यालयको समन्वयमा ‘स्वास्थ्य नै मानिसको अमूल्य सम्पत्ति हो’ भन्ने मूल नाराका साथ शिविर आयोजना गरिएको हो।
शिविरको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले ग्रामीण तथा स्थानीय समुदायका नागरिकलाई उनीहरूकै नजिक स्वास्थ्य सेवा उपलब्ध गराउने यस्ता शिविरले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताए।
शिविरमा स्थानीय नागरिकलाई फिजिसियन, हाडजोर्नी, महिला तथा प्रसूति र नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको सहकारीका अध्यक्ष पदमलाल घिमिरेले जानकारी दिए।
उनका अनुसार शिविरमा निःशुल्क भिडियो एक्सरे, औषधि, ईसीजी, सुगर परीक्षणलगायतका स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको थियो। स्वास्थ्यकर्मीले सहभागीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत दिएका थिए।
शिविरबाट करिब ५ सय जना स्थानीय नागरिकले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएको अध्यक्ष घिमिरेले बताए। कार्यक्रममा सहकारीका अध्यक्ष घिमिरे, सचिव खगिश्वर भण्डारी, व्यवस्थापक लक्ष्मण रेग्मी, सदस्यहरू देवीप्रसाद घिमिरे र विश्वमणि भुसाल तथा इलाइट हेल्थ क्लिनिकका जनक कुँवरलगायतको सहभागिता रहेको थियो।
आयोजक संस्थाले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।अध्यक्ष घिमिरेका अनुसार शिविरमा निःशुल्क भिडियो एक्सरे, निःशुल्क औषधि, ईसीजी सेवा, सुगर परीक्षण, स्वास्थ्य परीक्षण तथा परामर्शलगायतका प्रमुख सेवाहरू उपलब्ध गराइएको थियो ।







