२०८३ भाद्र १०

एमबीएस विद्यार्थीका लागि शोधपत्र लेखन अभिमुखीकरण सम्पन्न
  • लुम्बिनी खोज
  • २०८३ भाद्र ९, मंगलवार १६:०२ गते

बुटवल, ९ भदौ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको व्यवस्थापन संकायको आयोजनामा एमबीएसका विद्यार्थीका लागि शोधपत्र लेखन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार आयोजित ‘डिसर्टेसन ओरिएन्टेसन फर एमबीएस स्टुडेन्ट्स’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल कमर्स क्याम्पसका सहप्राध्यापक डा. प्रकाश श्रेष्ठले शोधपत्रका लागि प्रस्तावना लेखन, तथ्यांक संकलन तथा विश्लेषणका विषयमा विद्यार्थीलाई जानकारी दिएका थिए।

कार्यक्रममा एमबीएस चौथो सेमेस्टरका विद्यार्थीले शोधपत्र लेखनका लागि आवश्यक तयारी, विषय छनोट, प्रस्तावना निर्माण तथा तथ्यांक व्यवस्थापनलगायतका विषयमा राखेका जिज्ञासाको डा. श्रेष्ठले उदाहरणसहित स्पष्ट पारेका थिए।

क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको सहज सिकाइ र शैक्षिक विकासका लागि क्याम्पसले आवश्यक सहयोग गर्दै आएको बताए। उनले शोधपत्र लेखनलाई विद्यार्थीको अध्ययन र अनुसन्धान क्षमताको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्नेमा जोड दिए।

व्यवस्थापन संकाय प्रमुख राजेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, सहायक प्राध्यापक मनोज पौडेललगायतको सहभागिता रहेको थियो।