२०८३ भाद्र २३

कालिका मानवज्ञानद्वारा बाढीपीडितको राहत कोषमा साढे १८ लाख सहयोग
  • लुम्बिनी खोज
  • २०८३ भाद्र २२, सोमबार १४:०१ गते

शिक्षक–कर्मचारी र विद्यार्थीको संयुक्त अभियानबाट १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ संकलन

बुटवल, २२ भदौ ।

रुपन्देहीको बुटवल–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको संयुक्त पहलमा संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीका अनुसार शिक्षक तथा कर्मचारीबाट १७ लाख ४५ हजार १ सय ३१ रुपैयाँ, विद्यार्थी अभियानबाट ९६ हजार ४ सय रुपैयाँ र क्यूआरमार्फत १ हजार ९ रुपैयाँ संकलन भएको हो। यसरी जम्मा भएको १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ राहतस्वरूप कोषमा जम्मा गरिएको हो।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय तथा भयावह बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग संकलन अभियान सञ्चालन गरेको प्रधानाध्यापक ज्ञवालीले बताए।

विद्यालयले जारी गरेको ‘हार्दिक श्रद्धाञ्जली तथा समवेदना’ सन्देशमा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा हराइरहेका नागरिकको खोजतलास र उद्धार कार्य निरन्तर जारी रहोस् भन्ने कामना गरिएको छ।

विपद्को समयमा राज्य तथा विभिन्न संघसंस्थाको सहयोगसँगै समुदायस्तरबाट हुने मानवीय सहयोगको पनि महत्वपूर्ण भूमिका रहने भएकाले विद्यालय परिवार अभियानमा सहभागी भएको जनाएको छ।

विद्यार्थीले खाजा खर्चबाट रकम कटाएर सहयोग

राहत संकलन अभियानमा विद्यार्थीहरूले समेत आफ्नो खाजा खर्चबाट रकम कटौती गरी स्वेच्छिक रूपमा सहयोग गरेका थिए। उनीहरूले नगदसँगै क्यूआरमार्फत समेत रकम प्रदान गरेका थिए।

शिक्षक–कर्मचारी तथा विद्यार्थीको संयुक्त प्रयासबाट संकलित रकम राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका कार्यवाहक अध्यक्ष तेजेन्द्र खनालले बताए।

विद्यालयले आफूहरूले गरेको आर्थिक सहयोगको विवरणसमेत सार्वजनिक गरेको छ। सहयोग रकम पारदर्शी रूपमा सम्बन्धित कोषमा जम्मा गरिएको जानकारी दिँदै विद्यालयले सामाजिक उत्तरदायित्वका यस्ता मानवीय कार्यमा आगामी दिनमा समेत निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेका बेला कालिका मानवज्ञान माध्यमिक विद्यालय परिवारले गरेको १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँको सहयोग राहत, उद्धार तथा पुनःस्थापनाका लागि महत्वपूर्ण योगदानका रूपमा लिइएको छ।