२०८३ भाद्र २७

बुटवलबाट ‘मनसुन राष्ट्रिय साप्ताहिक’ को प्रकाशन सुरु
  • लुम्बिनी खोज
  • २०८३ भाद्र २६, शुक्रबार १४:४३ गते

बुटवल २६ भदौ ।
रुपन्देहीको बुटवललाई केन्द्रविन्दु बनाएर ‘मनसुन राष्ट्रिय साप्ताहिक’ पत्रिका प्रकाशन सुरु भएको छ ।
आज शुक्रवार बुटवलमा आयोजित एक विशेष समारोहकाबीच पत्रिकाको विमोचन गरिएको हो । पहिलो र अन्तिम पृष्ठ रंगीन सहित कुल आठ पेजमा बजारमा आएको साप्ताहिक पत्रिकाले नेपाली पत्रकारिताको मर्म र धर्मलाई आत्मसाथ गर्ने प्रतिबद्धता जनाएको छ । डिजिटल मिडियाको तीव्र विकास र छापा सञ्चारमाध्यममा देखिएको आर्थिक संकटकाबीच सुरु भएको प्रकाशनलाई स्थानीय बौद्धिक, व्यावसायिक तथा पत्रकारिता क्षेत्रका अगुवाहरुले सकारात्मक कदमका रुपमा लिएका छन् ।
पत्रिकाका सम्पादक श्यामलाल पोखरेलले मनसुन साप्ताहिकले कसैको दबाब र प्रभावमा नपरी पूर्ण रुपमा निष्पक्ष र निर्भीक पत्रकारिता गर्ने दृढता व्यक्त गरे । विमोचन कार्यक्रममा बोल्दै सम्पादक पोखरेलले समाजका विकृति, विसङ्गति विरुद्ध खरो रुपमा उत्रिँदै उत्पीडित र आवाजविहीनहरुको आवाजलाई मुखरित गर्नु नै पत्रिकाको मुख्य ध्येय रहने स्पष्ट पारे । व्यावसायिक पत्रकारिताको मूल्य–मान्यतामा कत्ति पनि सम्झौता नगर्ने उनको भनाइ थियो ।
विमोचन समारोहमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सञ्चारमाध्यमहरुले अब परम्परागत राजनीतिक केन्द्रित समाचारबाट माथि उठ्नुपर्नेमा जोड दिए। अध्यक्ष अर्यालले भने, समाचारको लय सधैँ सैद्धान्तिक, वैचारिक र निष्ठामा आधारित हुनुपर्छ । वर्तमान परिपेक्षमा मुलुकको समृद्धि र आर्थिक रुपान्तरणका लागि आर्थिक तथा विकास पत्रकारिता नै आजको मुख्य आवश्यकता हो । मनसुन साप्ताहिकले यस क्षेत्रलाई प्राथमिकता दिनेछ भन्ने मेरो विश्वास छ ।
पत्रकार डाक्टर बालकृष्ण चापागाईंले छापा माध्यम (प्रिन्ट मिडिया) कमजोर बन्दै जाँदा पत्रकारिता क्षेत्रमै विभिन्न विकृतिहरु भित्रिएको प्रति चिन्ता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले नेपाली सञ्चार क्षेत्रले हाल भोगिरहेका नीतिगत र आन्तरिक समस्याहरुका बारेमा चर्चा गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मुलुकको विद्यमान आर्थिक शिथिलता र कठिन परिस्थितिकाबीच पनि हिम्मत गरेर मनसुन साप्ताहिक पत्रिका प्रकाशन आरम्भ गरेकोमा प्रकाशन समूहलाई बधाई तथा पूर्ण सफलताको शुभकामना दिए ।
समारोहमा स्थानीय सञ्चारकर्मी, उद्योगी, व्यवसायीहरुले रंगीन र आकर्षक साजसज्जासहित पाठकमाझ आएको मनसुन साप्ताहिकले मोफसलको पत्रकारितामा नयाँ इँटा थप्ने र व्यावसायिक पत्रकारिताको खस्कँदो साखलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाएका थिए ।