२०८१ श्रावण १२

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार विनोद पहाडीलाई प्रदान गरिने
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ १६, सोमबार १०:०९ गते

बुटवल ।
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ पत्रकार विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
संविधानसभा सदस्य समेत रहेका अधिकारकर्मी एवं सञ्चारकर्मी विनोद पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको उल्लेखनीय
योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो ।
२०७९ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पहाडीलाई पुरस्कृत गरिने जनाइएको छ । तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ परेका विनोद पहाडी डा। भिमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भईसकेका छन । पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन । विभिन्न सञ्चारमाध्यममा आवद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष , नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल सभापति भइसकेका छन ।

दलित समुदायको अधिकार र उत्थानका लागि विभिन्न संघसंस्थाहरुमा क्रियाशील पहाडीले सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान÷अध्ययन कार्यमा समेत योगदान गरेका छन । उनी लेखक तथा विश्लेषक हुनुका साथै विभिन्न मानव अधिकार संस्थाहरुमा पनि क्रियाशील छन । अभियानकै क्रममा पहाडीले ब्रिटेन, फ्रान्स, जापान, स्विजरल्याण्ड, साउथ अफ्रिका, मेक्सिको, बेल्जियम, रुवाण्डा, बुरुण्डी, युगाण्डा, केन्यासहित १९ देशको भ्रमण गरेका छन ।