२०८२ माघ २६
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ल्याएको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ। बिहीबार नगरसभाको बाह्रौ अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाणले उपलब्ध श्रोत–साधन र अवसरको उच्चतम प्रयोग र न्यायोचित वितरणबाटै विकास र समृद्धिको आकाँक्षालाई पुरा गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। बिहीबार कै नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारीत गरेको हो।
शिक्षातर्फ नगर प्रमुख छात्रवृत्ति कोषलाई थप प्रभावकारी बनाइ लक्षित वर्गका बालबालिकालाई आधारभूत तहको शिक्षाका लागि छात्रवृत्ति व्यवस्था,सामुदायिक विद्यालयमा जडान भएको विद्युत तथा पानीको महशुलमा ५० प्रतिशत अनुदान दिइने, विद्यालयको इन्टरनेट निशुल्क, संस्थागत विद्यालयमा कम्तीमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्थालाई प्रभावकारी बनाउने, सामुदायिक विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड निशुल्क वितरण र दिवा खाजामा कक्षा ६ सम्मका विद्यार्थीलाई १० रुपैयाँ थपेर २५ रुपैया पुराइने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै छात्रालाई प्रतिरक्षात्मक आत्म सुरक्षा तालिम दिने, तीन वटा विद्यालयलाई बस खरिदका लागि १० लाखका दरले विशेष अनुदान दिइने, विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता, संस्कृत, मगर, थारुलगायत मातृ भाषा प्रबर्द्धन शैक्षिक संग्रहालय निर्माण तथा शैक्षिक शोधपत्रमा विशेष आर्थिक सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ।
कृषितर्फ कृषिलाई विशेष महत्व दिँदै पकेट क्षेत्र घोषणा गरिएको छ। वडा नं १२ लाई मकै, १३ माछा, १४ तरकारी, १७ गहुँ पकेट क्षेत्र घोषणा गरी अनुदान दिने नीति छ।
सामूहिक खेती प्रणालीलाई विकास गर्दै पशु पालक किसानका लागि आधारभूत भेटनरी र भ्याक्सिन नि:शुल्क गर्ने जनाइएको छ। वडा नं १७ मा चिस्यान केन्द्र व्यवस्थापन र सञ्चालन नीजि क्षेत्र र सहकारीसँग सहकार्य गर्ने, कृषियोग्य जमिन बाँझो राख्न नपाउने नीतिलाई निरन्तरता, खेतीयोग्य जमिनलाई प्लटिङ गर्न निरुत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
नयाँ कार्यक्रमको रुपमा पूँजीगत खर्च बढाउन फागुन मसान्तभित्र सम्झौता, जेठ मसान्तभित्र भुक्तानीको नीतिलाई कडाइका साथ कार्यान्वयन गरिने नगरप्रमुख खाणले बताए ।
यस्तै नीति तथा कार्यक्रममा आर्थिकरूपमा विपन्न नगरवासीको स्वास्थ्य उपचारका लागि नगर प्रमुख नागरिक सहायता कोष स्थापना, स्वस्थ नगरवासी, स्वस्थ नगर नाराका साथ गुणस्तरीय स्वास्थ्यमा सबै नागरिकको समतामुलक पहुँच सुनिश्चित गरिने उल्लेख छ।
यस्तै प्रत्येक वडामा दक्ष नर्ससहित प्रसूति सेवा उपलब्ध गराउने, वडा नं ६ को गोरकट्टा र वडा १७ वीपीग्रामको १५ शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालन गर्ने नीति अगाडि सारेको छ।
तिलोत्तमा नगरस्तरीय ल्याब सेन्टर स्थापना, नगर प्रमुखसँग ज्येष्ठ नागरिक स्वस्थ्य जाँच निरन्तरता, नगरस्तरीय ब्लड बैंक स्थापनालाई निरन्तरता दिएको छ। विषादी मुक्त खानपान तिलोत्तमाको पहिचान नारालाई आत्मसाथ गर्दै प्राङ्गारिक खेती उत्पादनलाई प्रोत्साहन गरिने छ। तिनाउ र रोहिणीको नदी उकास जग्गामा उत्पादनमूलक कार्य गर्न प्रोत्साहन र एक वर्षभित्र कृषि योजना तर्जुमा कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यसैगरी तिलोत्तमा कृषि एम्बुलेन्स सञ्चालन, नगर प्रमुख किसान कार्यक्रम, परदेशको ज्ञान तिलोत्तमामा योगदान नारासहित विदेशमा काम गरेर फर्केकालाई कृषि र पशुपालनमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
महिला मात्र आवद्ध सहकारीको व्यवसाय करमा ५० प्रतिशत छुट, वातावरणमैत्री उद्योगलाई व्यवसाय करमा ५० प्रतिशत छुट दिने, पर्यटन सूचना केन्द्र स्थापना, श्रम बैंक तथा रोजगार सूचना केन्द्र स्थापना,तिलोत्तमालाई साइकल सिटीका रुपा विकास गर्ने नीति कार्यक्रममा उल्लेख छ।