२०८२ कार्तिक २८
बुटवल ।
रुपन्देही उद्योग संघको आयोजनामा नेपाल राष्ट्र बैकबाट महिलाको आर्थिक उत्थान एवं उद्यमशिलताका लागि गरिएका प्रयासहरु विषयक अन्तरक्रिया कार्यक्रम शुक्रवार बुटवलमा सम्पन्न भएको छ ।
रुपन्देहीमा रहेका उद्योगी महिलाहरुको सहभागितामा भएको कार्यक्रमको शुभारम्भ गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले औद्योगिक विकासका लागि उद्यमशिलताको विकास जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि संघले सधै जागरण र शसक्तिकरणको भूमिका निभाउँदै आएको बताए । अध्यक्ष पौडेलले उद्यम क्षेत्रमा लागेका र लाग्न चाहाने महिलाहरुलाई राज्यले संरक्षणको नीति लिएर आर्थिक उत्थानका गतिविधिलाई प्राथमिकतामा राख्न सुझाव दिए ।
महिलाहरुले राज्यले प्रदान गरेका अवसर र सहुलियत लिनका लागि धेरै झन्झट व्यहोर्नु पर्ने तथा लक्षित समुदायसम्म राहात पुग्न नसकेको बताउँदै त्यसलाई मसिनोसँग अनुगमन गरेर रोजगारी श्रृजना, जनशक्ति उत्पादन र व्यवस्थापनमा काम गर्नुपर्ने धारणा राखेका थिए ।
संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले मुलुकको समृद्धिको लागि महिला उद्यमशिलताको विकास गर्नु जरुरी रहेको बताउँदै त्यसका लागि शसक्तिकरणलाई प्रमुख आधार बन्नु पर्ने बताए । बैकबाट दिइने सुविधा र सहुलियत लिन महिलालाई निकै गाह्रो भएको कुरालाई सहजिकरण कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, भैरहवा शाखा निर्देशक रञ्जना पौडेल पण्डितले कार्यक्रममा सहजिकरणको भूमिका निर्वाह गर्दै राष्ट्र बैंकका नीति र कार्यक्रमका बारेमा जानकारी गराउँदै महिलाको आर्थिक उत्थान एवं उद्यमशिलताका लागि बैंकबाट गरिएका प्रयासहरुबारे जानकारी गराएका थिए । उनले बैंकले संस्थागत रुपमा विपन्न वर्गमा कर्जा प्रवाह गर्ने र सामाजिक रुपले पिछडिएका समुदायलाई सहुलियत प्रदान गर्ने लक्ष्य सहित कार्यक्रमको सुरुवात गरेको बताए । बैंकले लक्षित बर्गलाई कुल कर्जामा ५ प्रतिशत सहुलियत कर्जा अनिवार्य रहेको र त्यो ग्रामिण विकास बैंक, लद्यु वित्तहरुबाट पनि दिने प्रावधान रहेको हुँदा ति ठाउँमा पुग्न आग्रह गरे ।
बैंकले महिलाहरुको आम्दानीमा बृद्धि गरी समाजमा हैसियत बढाउँदै जिवनस्तर उकास्ने लक्ष्य सहित अगाडि सारिएका कार्यक्रमहरुमा महिलाहरुको पहँुच पुग्न नसकेको प्रति आफु गम्भिर बनेको र सहुलियत लिनका लागि उद्यमी महिलाहरु सक्रिय र सचेत भएर लाग्न अनुरोध गरे ।
कार्यक्रममा संघकी पूर्व महिला सचिव माया खनाल, पूर्व कार्यसमिति सदस्य रेनुका खरेल, महिला उद्यमी समितिकी सहसंयोजक शारदा शर्मा, महिला उद्यमीहरु सावित्रा रेग्मी लगायतले महिलाहरुले पाउनु पर्ने सहुलियत र सहयोग पाउन नसकेको गुनासो गर्दै महिलाहरुलाई उत्साहित बनाउने र उद्यमशील बनाउन कर्जा सहलिकृत गर्न आग्रह गरेका थिए ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता तथा महिला सचिव मञ्जु भुसालको सञ्चालनमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष्य कृष्ण प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव हरि बहादुर खत्री, कोषाध्यक्ष हिरामणी भट्टराई, सचिव बसन्त ढकाल, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, सल्लाहकार ऋषि बहादुर भण्डारी, सदस्यहरु मिना थापा, शारदा भट्टराई, चन्द्रकान्त खनाल, लाल बहादुर थापा, जमुना सुवेदी पोखरेल, विशाल वेलवासे, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सचिवालय सदस्य जमुना सुवेदी पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए