२०८१ श्रावण १२

लुम्विनीमा प्रदेश सरकारको कार्य विभाजन अनुसूचीमा हेरफेर
  • लुम्बिनी खोज
  • २०७९ श्रावण १, आईतवार १७:०८ गते

बुटवल ।

लुम्विनी प्रदेश सरकारको (कार्य विभाजन) नियमावली, २०७८ को अनुसुचीमा हेरफेर गरिएको छ । अनुसुचीमा हेरफेर भएसगै कुनै कुनै मन्त्रालयहरुको जिम्मेवारी घटबढ भएको छ । (कार्य विभाजन) नियमावली, २०७८ को अनुसूचीमा हेरफेर गर्दै मन्त्रालयहरुको संख्या पुरानै कायम राखिएको छ , तर केही मन्त्रालयको जिम्मेवारी अर्कोमा सार्ने काम भएको छ । अनुसुची हेरफेर पछि प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला, कानून तथा संचार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम तथा यातायत व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालय कायम गरिएको छ । यसभन्दा अगाडि कानून महिला तथा बालबालिका मन्त्रालयमा रहेको कानून कार्य विभाजन अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा थप गरिएको छ ।

प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार मन्त्रीपरिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई (२) जना हलुका सवारी चालकको अस्थायी दरवन्दी आ.व.२०७९।८० का लागी स्वीकृत गरेको छ । प्रदेशमा विद्युतिय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गर्ने, जगदिशपुर बर्ड स्याङ्चुअरी (पंक्षी आरक्ष) कार्ययोजना÷ व्यवस्थापना योजना (२०७९।८० –२०८३ । ०८४) स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा कार्यसञ्चालन) आदेश, २०७८ खारेज समेत गरेको छ । यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रदेश सचिव पदमा नेपाल प्रशासन सेवा रा.प.प्रथम श्रेणीको प्रदेश सचिव रहने गरी दरबन्दी कायम गर्ने र सो मन्त्रालयको प्रदेश सचिव पदमा अर्को व्यवस्था नभएसम्म श्रम, तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत प्रदेश सचिव (प्रशासन सेवा, रा.प.प्रथम श्रेणी) श्री दिपक राज नेपाललाई थप जिम्मेवारी सहित कामकाज गर्न तोक्ने निर्णय गरेको शर्माले बताए ।