२०८२ माघ २५

प्रदेश सभाका कर्मचारीलाई पुस्तकालय सञ्चालन सम्वन्धी तालिम
  • लुम्बिनी खोज
  • २०७९ श्रावण १३, शुक्रबार ०८:२९ गते

बुटवल ।
सबै प्रदेश सभाका पुस्तकालयका कर्मचारीहरुलाई पुस्तकालय सञ्चालन एंव व्यवस्थापन सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ । संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा सात वटै प्रदेशका प्रदेश सभाका पुस्तकालयमा कार्यरत कर्मचारीहरुलाई उक्त तालिम दिइएको छ ।
बुधबार देखि बुटवलमा शुरु भएको तालिम शुक्रवार सकिएको छ ।

पन्ध्र जनाको सहभागिता रहेको तालिममा राजु शाक्यले सहजीकरण गरेका थिए । तालिममा पुस्तकालय सञ्चालन तथा अभिलेखीकरणको विकासक्रम, पुस्तकालय तथा प्रविधि व्यवस्थापन, पुस्तकालय संचालनमा सूचना प्रवाह तथा व्यवस्थापनलगायत ओपन सोर्स सफ्टवेयर जस्ता विषयमा प्रशिक्षण दिइएकोे थियो । तालिमको अन्तिम दिन लुम्बिनी प्रदेश सभाको पुस्तकालयमै व्यवहारिक सत्रहरु सञ्चालन गरिएको थियो।

त्यस्तै पुस्तकालय व्यवस्थापनमा प्रविधिको प्रयोगका अतिरिक्त संघीय संसद सचिवालयको तर्फबाट उपसचिव कल्पना शर्माले पुस्तकालय सञ्चालन एंव व्यवस्थापन सम्वन्धी अनुभव आदान प्रदान समेत गरिन । त्यस्तै पुस्तकालयसम्वन्धी एपका बारेमा जानकारी गराउँदै पुस्तकालय व्यवस्थापन गर्ने सफ्टवेरको प्रयोग र इन्स्टलेसनका तौर तरिका एवम् प्रायोगिक सीपहरुका बारेमा पनि छलफल भएको थियो । संसदमा पुस्तकालयको नियमित उपयोग तथा दिगोपनका बारेमा पनि सहभागीहरुलाई जानकारी गराइएको थियो ।
लुम्विनी प्रदेश सभाका पुस्तकालय प्रमुख सहभागी हरी प्रसाद ज्ञवालीले तालिमले कयौँ व्यावहारिक सीपहरु प्राप्त भएको र आफूले गरिआएको काममा थप निखार आउने विश्वास व्यक्त गरे ।
तालिम समापनका अवसरमा संसद सहयोग परियोजनाका व्यवस्थापक राज बहादुर श्रेष्ठले प्रदेश सभाका पुस्तकालय स्थापना र विकासमा परियोजनाले सहयोग गर्दै आएको र भावी दिनमा पनि यी पुस्तकालयहरुलाई प्रादेशिक सूचना केन्द्र तथा खुल्ला पुस्तकालयका रुपमा विकास गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।