२०८२ माघ २५
बुटवल ।
बुटवल –नारायणगढ सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ भएपछि सडक विभागले निर्माण कम्पनीलाई ठेक्का तोड्न सक्ने गरी चेतावनी दिएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई करिब एक महिनाभित्र काममा सुधार ल्याउन निर्देशन दिएको छ । ५ कात्तिक अक्टोबर २२ भित्र कार्यसम्पादनमा सुधार नआए ठेक्का रद्दको प्रक्रियामा जाने विभागले चेतावनी दिएको हो ।
पूर्व–पश्चिम राजमार्गको उक्त सडकखण्ड ११३ किलोमिटरलाई चार लेनको बनाउने गरी विभाग र कम्पनीबीच पुस ०७५ मा सम्झौता भएको थियो । उक्त सडकखण्डलाई दुई भागमा विभाजन गरेर सोही कम्पनीलाई नै ठेक्का दिइएको थियो । त्यसमा पश्चिम भागको सात अर्ब ८६ करोड रुपैयाँ र पूर्वी भागको झन्डै १० अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।