२०८२ कार्तिक २७
बुटवल ।
बुटवलमा सोमबारदेखि दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको सचिवालय परिसर वालमन्दिरमा दशैं सस्तो बजार सञ्चालन गरिएको हो ।
पाँच दिनसम्म सञ्चालन गरिने दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले दशैं सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवद्र्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लागि दशैं सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मुल्यमा बस्तुको विक्रिवितरण गरिने जानकारी दिए । संघले विगतदेखि सञ्चालन गर्दै आएको दशैं सस्तो बजार एउटा निरन्तरता मात्रै नभएर सर्वसाधारणलाई लक्षित गरेर राष्ट्र बैंक संघको सहकार्यमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको, नुन, तेल, चिनी, मसला लगायतका दैनिक उपभोग्य सामान राखिएको जानकारी गराए । यसबाट लाभ लिन पनि उनले सबैलाई आग्रह गरे ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताको समेत हितमा हुनेगरी व्यवस्था मिलाउन आग्रह गरे । उनले विशेष गरेर चाडपर्वको समयमा मासु तथा मिठाईको गुणस्तर तथा उपभोक्ता मुल्यलाई समेत ध्यान दिनुपर्ने भनाई राखेका थिए ।
जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित सुरक्षा व्यवस्था तयार गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले अपराधिक गतिबिधि रोक्न भरपर्दो सुरक्षा व्यवस्था मिलाईएको जानकारी गराए । खुला सिमानाकामा हुने चोरी निकासी रोक्नको लागि प्रशासनबाट काम भईरहेको बताउँदै बस्तुको मुल्यलाई अलि प्रतिस्पर्धी बनाउन पनि सुझाव राखे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंककी निर्देशक रञ्जना पण्डित पौडेलले दुई तिन वर्ष यता आयातमा भएको अत्यधिक बृद्धिले अधिक व्यापार घाटा, विदेशी सञ्चिती कमजोर हुन पुगेको बताइन । उनले विदेशी सञ्चिती सुधारोन्मुख रहेको बताइन । संघले सस्तो बजार सञ्चालन गरेर राम्रो काम गरेकोमा खुसी व्यक्त गरिन । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी लगायतले शुभकामना व्यक्त गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।
यहि असोजको १४ गते पञ्चमी सम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरी लगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चिया, कफि, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामान सहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूल लगायतका सामाग्रीहरुको विक्रि वितरण गरिने छ । त्यस्तै दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको छ, लायन्स क्लव अफ बुटवल युथले निःशुल्क सुगर परीक्षण गरेको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी गराए ।