२०८२ माघ २५
जैविक मल र बानस्पतिक विषादीका बारेमा किसानलाई जागरुप बनाउनुपर्नेमा जोड
बुटवल ।
अर्गानिक उत्पादन बढाउन बानस्पतिक विषादी उपयुक्त हुने कुरामा जोड दिइएको छ । जैविक मल र बानस्पतिक विषादीका बारेमा किसानहरुलाई जागरुप गराउन सके अर्गानिक उत्पादन बढाउन सकिनेमा सरोकारवालाहरुको जोड छ ।
मानव स्वस्थ्यमा प्रतिकुल असर पार्ने खालका खाद्यन्नको प्रयोग बढीरहेको अवस्थामा त्यसलाई कम गर्न बानस्पतिक विषादी नै उपयुक्त हुने सम्वन्धित क्षेत्रका ब्यक्तित्वहरुले बताएका छन । रासानिक मलको बढ्दो प्रयोगले कृषि योग्य माटोमा नै असर गर्ने र यो कृषि क्षेत्रका लागि चुनौती बनिरहेका अवस्थामा विभिन्न खालका विषादीहरुको प्रयोगले मानव स्वस्थ्यमा अर्को चुनौती थपिएको भन्दै सरोकारवालाहरुले चिन्ता पनि ब्यक्त गरेका छन ।

लुम्विनी जैविक विषादी तथा एग्रो संस्था बुटवल १३ ले मंगलवार बेलवासमा गरेको बानस्पतिक विषादीको प्रयोगः समस्या एंव समाधान विषयक अन्तरक्रियामा सहभागिहरुले शहरी क्षेत्रमा कौसी तथा करेसाबारी खेतीलाई अर्गानिक बनाउन बानस्पतिक विषादीको प्रयोग उपयुक्त हुने कुरामा जोड दिए । सानो सानो क्षेत्रमा थोरै खेती गरी राम्रो उत्पादन गर्न बानस्पतिक विषादीको प्रयोगसंगै जैविक मलको प्रयोग उपयुक्त हुने उनीहरुले बताए । अन्यत्र पनि ठूलो क्षेत्रमा अर्गानिक खेती गर्नेहरुका लागि बानस्पतिक विषादी उपयुक्त हुने उनीहरुको भनाइ छ । कौसी खेती गरिरहेका देखि विभिन्न कृषक समुहमा रहेका कृषकहरुका अतिरिक्त कृषिसग सम्वन्धित सरकारी कार्यालयका ब्यक्तित्वहरु कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सस्थाका सल्लाहकार डीआर घिमिरेले नेपाल आयात हुनेमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको तथा १५ प्रतिशत विषादी मात्र अरू बालीमा प्रयोग हुने गरेको बताए । बढ्दो विषादीको प्रयोगका खाद्यन्नले विभिन्न खालका स्वस्थ्य समस्या ल्याउने भन्दै उनले जैविक वानस्पतिक विषादीको प्रयोग बढाउनुपर्ने आवश्यकता औल्याए ।
प्राकृतिक श्रोतहरु मिसाई बनाइएको झोल वा जिवित सुक्ष्म जिव प्रयोग गरी रोग किराहरुको रोकथाम गर्ने विधिनै जैविक विधि हो । जैविक विधिले रोगकिराबाट बालीलाई बचाउनुका साथै मानव स्वास्थ्यको पनि सुरक्षा गर्छ भन्दै उनले विषादी लगायत हानिकारक तत्व प्रयोग नगरी गरिने जैविक खेतीतर्फ जोड दिनुपर्ने बताए । उनले जैविक खेती बढाउन सरकारी नीतिमा आवश्यक परिवर्तनका साथै भएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए । हाल प्रयोगमा ल्याइएको बानस्पतिक विषादीको ल्याब परीक्षण गरिनु पर्ने भन्दै घिमिरेले मानव स्वास्थ्यमा घातक असर पर्ने गरी कृषि उत्पादनमा प्रयोग भइरहेको रासायनिक विषादी न्यूनीकरण गर्न यसको विकल्प खोजीसँगै सचेतना विस्तार गर्नुपर्ने बताए ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जीसीले बुटवलमा जैविक उत्पादन बढाउन विभिन्न कार्यक्रम अगाडी बढाइएको बताए । उनले १६ वटा कृषक समुह, २४ वटा कृषि सहकारीलगायत मार्फत विषादी प्रयोग कम गर्दै लैजान विभिन्न पहल भएको धारणा समेत राखे । त्यस्तै कौसी तथा करेसा खेतीलाई ५ हजार घरधुरीबाट ७ हजार घरधुरीमा लैजाने गरी योजना अगाडी बढाइएको समेत बताए ।
कार्यक्रममा वोल्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि ब्यवस्था मन्त्रालय खाद्य सुरक्षा महाशाखा प्रमुख शिवप्रसाद अर्यालले कृषि उत्पादन र बजारीकरणमा कृषकहरुसग संगसंगै अगाडी बड्न मन्त्रालयले कृषकहरु तथा समुहहरुसग छलफल गर्दै अगाडी बढ्ने बताए ।
कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख सन्देश धितालले उत्पादन बढाउन माटोलाई जीवित राख्दै खाद्यान्नमा सुरक्षित रहन कृषि क्षेत्रका समस्याहरु समाधान गर्न कृषक समुहहरुसग छलफल गर्दै अगाडी बढ्ने बताए ।

लुम्विनी जैविक विषादी तथा एग्रो संस्थाकी अध्यक्ष रिता घिमिरेले किसानका समस्या अगाडी ल्याउन र समस्या समाधानमा मद्दत पुगोस भनेर कार्यक्रम गरिएको भन्दै जैविक विषादीको प्रयोगका बारेमा चेतना विस्तार जरुरी रहेको धारणा राखिन् ।
कार्यक्रममा उपभोझा हित संरक्षण मञ्चका तेजकुमार पाठक, अखिल नेपाल किसान महासंघका महेन्द्र गिरी, सस्थाका सञ्चालकहरु मधुकला कुँवर, शान्ता घिमिरेलगायतले रासायनिक मल र विषादीको प्रयोगमा कमी ल्याउन बानस्पतिक विषादीको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा रामवहादुर राना, दुर्गाप्रसाद घिमिरे, सावित्रा रेग्मीलगायतले कृषि क्षेत्रका विभिन्न समस्याहरु राखेका थिए ।