२०८१ पुष ११
चर्को व्याजदर र गलत नीतिका विरुद्ध आन्दोलनको चेतावनी
बुटवल ।
रुपन्देही उद्योग संघको ४४ आंै वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । उद्घाटन सत्रमा बोल्ने उद्योगि व्यवसायीहरुले चर्को बैंक व्याज र आर्थिक क्षेत्रमा राज्यले अगाडि सारेका गलत नितिका कारण नेपालका उद्योगहरु धराशाही हुने अवस्थामा पुगेको भन्दै त्यसमा सरकार गम्भिर नबनेमा सबै उद्योगहरु बन्द गरेर तालाचावी सरकारलाई बुझाउने अवस्था आउने बताएका थिए । उनीहरुले उद्योग क्षेत्र बैंकको चर्को व्याज र लगानीको अभावले धराशाही बनेको बताए । उनीहरुले सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई लगाम विना छाडा छाडेको परिणाम अर्थतन्त्रमा देखिएको वेथिति भएको उल्लेख गरे ।
बक्ताहरुले मुलुकको विकासको आधार क्षेत्र औद्योगिक विकास र स्वदेशी उद्योगहरुको संरक्षणको विषयमा राज्यले लिएको गलत नितिका कारण आज आर्थिक क्षेत्र तहसनहस हुदै गएको जिकिर गर्दै उद्योगीहरु उद्योग बन्द गरेर ताला सरकारलाई बुझाउने स्थिती आएको बताए ।
कार्यक्रममा वोल्दै नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नीजि क्षेत्र सफल भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताए । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नीजि क्षेत्रलाई सरकार र राजनीतिक दलले बुझ्न नसकेकाले नेपालको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको उनले बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष परिषदका संयोजक तथा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले उद्योगीहरुले उद्योगहरु बचाउन चाहे पनि बैंकको चर्को व्याजले उद्योगहरु बचाउन नसकिने अवस्था सिर्जना भएको बताए । उनले आर्थिक विकासका लागि उद्योगी मैत्री नीति जरुरी रहेको बताए ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलले औद्योगिक विकास र आर्थिक उन्नतीका लागि अपेक्षा अनुसारको नीति र व्यवहार पाउन नसकेको बताए ।
नेपालमा औद्योगिक विकासका निम्ति नीतिगत सुधार, पर्याप्त पूँजी परिचालन र पूर्वाधारको विकास, स्वदेशी उद्योगहरुको संरक्षण र प्रवद्र्धन गर्ने कुरामा राज्यले ध्यान दिन नसकेको गुनासो गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, रुपन्देही प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी विकास मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदी, नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय भैरहवाका निर्देशक रञ्जना पौडेल, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेजकुमार पाठक, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्मा, नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका संयोजक टंक प्रसाद पोखरेल, गणेश अधिकारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल लगायतले बोल्दै हरेक क्षेत्रमा आर्थिक मन्दी हुंदै गएकाले यस विषयमा सरकार र नेपाल राष्ट्र बैंकलाई गम्भीर बन्न आग्रह गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको स्वागत र महासचिव हरिबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए ।
साधारणसभामा अध्यक्ष माधव पौडेलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष हिरामणि भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बन्दसत्रले छलफल गरी पारित गरेको संघका कार्यकारी प्रमुख यादव भण्डारीले जानकारी गराए ।