२०८२ माघ २४
बुटवल ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको ११ औँ साधारणसभा बुटबलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता शुद्धिकरणको अभियान सुरु गर्नुपर्ने बताएका छन । शुद्धिकरणको माध्यमबाट पत्रकार महासंघलाई श्रमजीवि पत्रकारहरुको संस्थाका रुपमा मात्रै महासंघलाई चिनाउन अघि बढ्नुपर्ने उनले बताए । अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रबाट विस्थापित भइसकेका र पलायन भएका र पत्रकारिता छाडेर अन्य पेशामा गइसकेकाहरुलाई शुद्धिकरणका गर्न कुनै ढिला गर्न र कन्जुसाई गर्न नहुने बताए ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा पत्रकारिताको अध्ययनका लागि बुटवल उपमहानगरले सहकार्य गर्न तयार रहेको बताए । उनले बुटवल उपमहानगरपालिकाले यस क्षेत्रमा पत्रकारिताको गुणस्तर वृद्धि गर्नको लागि कामहरु गरिरहेको बताउदै आवश्यक छलफल गर्न तयार रहेको बताए । पत्रकारिताभित्रको मर्म र धर्मभित्र रहेर बिनापूर्वाग्रह समाचार प्रकाशन गर्नसमेत उनले आग्रह गरे । तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लोकतन्त्र र मिडिया एकअर्काका परिपूरक भएकाले सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे । सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले पत्रकारहरुले देशबिकासमा पत्रकारको भूमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सत्य समाचार प्रकाशन गर्न आग्रह गरे । साधारणसभाको उद्घाटन सत्रमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पत्रकारिता क्षेत्रको विकासको लागि स्थानीय प्रशासन साथमा रहेको बताए ।
कार्यक्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का, पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाई , पूर्वअध्यक्ष दिपक ज्ञवाली, पूर्वअध्यक्ष शेरबहादुर केसी लगायतले बोल्दै महासंघले पुरस्कारको साथसाथै पत्रकारहरुको क्षमता बिकास, स्थायित्व र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका थिए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनाल ,पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेललगायतले बोलेका थिए । बन्दसत्रमा सचिव बिनोद परियारको सांगठनिक र कोषाध्यक्ष सञ्जय सौगातको आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै साधारणसभाले १२ बुँदे प्रस्तावसमेत पारित गरेको छ । सदस्यता शुद्धिकरण अभियान सञ्चालन गर्ने, पत्रकार र सञ्चार संस्था र समग्र सचार क्षेत्रको सबलीकरण, दुर्घटना बिमा, पत्रकारिता अध्ययनका लागि पहल गर्नेजस्ता विषयहरु साधरणसभाले पारित गरेको छ । अमृता अनमोल, रेखा भुसाल र सरु राना रहेको ३ सदस्यीय प्रस्ताव लेखन समितिले सभामा प्रस्ताव पेश गरेका थिए । महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता, विनोद परियारको संचालनमा भएको कार्यक्रममा अमृता अनमोलले स्वागत तथा विश्वास ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।
९ जना पत्रकार पुरस्कृत

साधारणसभामा रुपन्देहीमा कार्यरत ९ जना पत्रकार पुरस्कृत भएका छन । बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उत्कृष्ट पत्रकारिता पुस्कार २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य, २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका छन । बुटवल पब्लिकद्वारा स्थापित उत्कृष्ट शैक्षिक पत्रकारिता पुस्कारबाट चन्द्रकान्त खनाल ,कपिल ज्ञवाली,र पूजा पन्थी पुरस्कृत भएका छन ।
सिद्धार्थनगर नगरपालिकाद्वारा स्थापित उत्कृष्ट श्रमजीवि पत्रकारिता पुरस्कार नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेल पुरस्कृत भएका छन ।