२०८२ माघ २४

स्थानीयको व्यवस्थापनपछि मात्रै तिनाउ –दानव करिडोरको काम अघि बढ्छः पौडेल
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक १४, सोमबार ०८:३९ गते

बुटवल ।
पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीयको उचित व्यवस्थापन पछि मात्रै तिनाउ –दानव नदी करिडोरको काम अघि बढ्ने स्पष्ट पारेका छन् । करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबार बिहीन हुने भ्रम छरिएको भन्दै उनले यस्तो कदापी नहुने बताए । पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उनले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उल्लेख गरे ।
सोमबार बुटवल–११ बुद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा तिनाउ–दानव करिडोर बारे छलफल गर्दै उनले विकासका नाममा कसैले पनि घर–बास विहिन हुनु नपर्ने बताए ।
जनताका लागि नै सुरु गरिएका महत्वकांक्षी र ठूला विकासका आयोजनाहरुमा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएको भन्दै उनले जनतालाई असर पर्ने कुनै अघि नबढ्ने स्पष्ट पारे ।
एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्मार्णको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घर–बासविहिन नबनाइने स्पष्ट पारे ।
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ बिकास गनमा बढि केन्द्रित रहेको उल्लेख गरे । रुपन्देहीलाई बिकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउँदै उनले यसका लागि आगमी निर्वाचनमा एमालेले जित्नै पर्ने उल्लेख गरे ।
आकाश ओढ्ने र धर्ती बिछ्याउने सबैको प्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता गर्दै पौडेलले अब आफ्नो ध्यान रोजगार सिर्जना र शिक्षामा हुने बताए ।
हरेक घर परिवार तथा युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि ठूला बिकास आयोजनाहरुको सुरुवात, औद्योगिक क्षेत्रको बिकास, कृषिलाई आधुनिकीकरण तथा प्राविधिक शिक्षालाई जोड दिइने उनको भनाइ छ ।
कार्यकर्ताहरुसँगको छलफलमा बोल्दै एमाले पोलिटव्यूरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध बिकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे ।
विगतमा आफूले सुरु गरेका योजनाहरुलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले ती योजनाहरु पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गरे ।
यहाँको पर्यटकीय क्षेत्रको बिकास, खेलकूद क्षेत्रमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षामा लगानी लगायतका मुद्दाहरु आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।