२०८१ आश्विन ८

विष्णु पौडेलले सार्वजनिक गरे चुनावी प्रतिबद्धता
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक २१, सोमबार १८:०५ गते

बुटवल ।      पूर्वअर्थमन्त्री  विष्णु पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। नेकपा एमालेबाट रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा उम्मेदवार बनेका पौडेलले आइतबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि पौडेलले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। यस क्षेत्रमा नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धन रहेको छ। एमालेबाट प्रतिनिधिसभामा पौडेलसँगै प्रदेश सभामा लीला गिरी (१) र  भोजप्रसाद श्रेष्ठ (२) मा उम्मेदवार बनेका छन्।

निर्वाचन क्षेत्रकेन्द्रित प्रतिबद्धतापत्रमा विभिन्न क्षेत्रको विकासलाई समेटिएको छ। प्रतिबद्धतापत्रमा एकीकृत विकास र रूपान्तरणकारी पूर्वाधारसहितको बृहत् लुम्बिनी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, आवास तथा भूमि व्यवस्था, युवा उद्यमशीलता, श्रम तथा रोजगारी ,पर्यटन, कला र संस्कृति, कृषि र सिँचाइ, सडक, खानेपानी, विद्युत् तथा आधारभूत पूर्वाधार, युवा तथा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित एवं उत्पीडित वर्ग र सामाजिक सुरक्षा, सूचना, प्रविधि र सञ्चार, सुशासन र सेवाप्रवाहका विषयगत विषयहरू समेटिएको छ।

प्रतिबद्धता सार्वजनिक गर्दै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले विकास निर्माणमा रुपन्देहीलाई माथि उठाउने र मुलुककै नमुना जिल्ला बनाउने बताए। उनले विगतमा निर्माण समपन्न भएका योजनाहरू सञ्चालन गर्ने, अधुरा काम पूरा गर्ने र नयाँ योजना अगाडि बढाउने र बाँकी सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

भविष्यमा रुपन्देही २ मात्र नभई जिल्लालाई नै विकास निर्माणमा रोलमोडल बनाउने गरी प्रतिबद्धता ल्याएको भन्दै पौडेलले यहाँको विकाससँगै बासिन्दाको आयस्तरमा वृद्धि र जीवनस्तरमाथि उठाउने बताए। प्रतिबद्धतापत्रमा बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने उल्लेख छ। यस्तै, सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना कार्यान्वयन, तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन्, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ।