२०८२ माघ २४

बिहिवार राति १२ बजेदेखि मौन अवधि 
  • लुम्बिनी खोज
  • २०७९ मंसिर १, बिहीबार १८:०२ गते

प्रचार पूर्ण रूपमा निषेध, सामाजिक सञ्जालबाट विज्ञापन हटाउनुपर्ने, मदिरा प्रतिबन्ध, सीमा बन्द

बुटवल ।

प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घन्टालाई स्थिर समय भनिएको छ । स्थिर समय अर्थात् मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइनेछैन ।

४ मंसिर बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घन्टा अर्थात् आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन  आयोगले जनाएको छ । निर्बाचन आयोगका अनुसार मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइनेछैन । कुनै पनि विधिबाट मत माग्ने र निर्वाचन प्रचार गर्न पाइनेछैन । मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनुपर्नेछ ।

उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने ‘ सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न पनि नपाइने निर्वाचन  आयोगले जनाएको छ। आयोगले मौन अवधिमा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरेको छ । मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको मितिभन्दा ४८ घन्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरिएको निर्वाचन  आयोगले जनाएको छ । मदिरा निषेध गराउन तथा सूक्ष्म अनुगमन गर्न सिडिओ, प्रहरीलाई निर्देशन दिइएको छ भने मदिरा व्यवसायीसँग सहयोग मागिएको छ ।

आयोगले मौन अवधि कार्यान्वयन गराउन बिहीबार राति १२ बजेदेखि नै नेपाल भारत सीमानाका बन्द गरिने जनाएको छ । यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत भारतसँग समन्वय गरिएको छ । मतदान नसकिएसम्म नाकाहरू बन्द हुनेछन् । ‘मतदान केन्द्र रहेको घर, भवन वा सो स्थलवरिपरि असर पर्ने गरी शान्ति भंग गर्ने वा भय, त्रास पैदा हुने गरी निर्वाचन वातावरण बिथोल्न पाइँदैन । मतदानस्थलवरिपरि साउन्ड सिस्टम राख्ने, ठूलो स्वरले बजाउन पाइँदैन । बाजागाजा बजाउने, नाचगान, भोजभतेर गर्ने, जुलुस प्रदर्शन, जुनसुकै किसिमको सभा, समारोह गर्न, हुलहुज्जत, होहल्ला गर्न पाइँदैन,’  । आचारसंहिताविपरीतका यी गतिविधि गरेमा निर्वाचन कसुर सजाय ऐनअनुसार कारवाही हुनेछ ।

निर्बाचन आयोगका अनुसार आचारसंहिता पूर्ण पालना गराउन निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, प्रहरी प्रशासन सबैलाई निर्देशन जारी गरिसकेको जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही हुने उनले चेतावनी दिइएको छ । । निर्वाचन कसुर सजाय ऐनमा अधिकतम दुई लाखसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।