२०८१ आश्विन ८

प्रदर्शनीलाई प्रविधि र दर्शक मैत्री बनाउने प्रतिवद्धता
  • लुम्बिनी खोज
  • २०७९ मंसिर २३, शुक्रबार ११:०४ गते

बुटवल ।
बुटवलमा आयोजना गर्न लागिएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको सिलसिलामा विहिवार रुपन्देही उद्योग संघले स्थापना गरेको औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार एवं आयोजकवीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा भएको छलफलमा प्रदर्शनीलाई व्यवस्थित रुपमा आयोजना गर्न समावेश गर्नु पर्ने विषय वस्तु, सुधार गर्नुपर्ने कार्यक्रम तथा योजनाहरुका बारेमा सुझाव दिइएको थियो ।
कार्यक्रममा तयारीका बारेमा जानकारी गराउदै प्रदर्शनी मुल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले संकटमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन प्रदर्शनीको भूमिका महत्वपूर्ण विश्वास व्यक्त गर्दै अहिलेको विषम् परिस्थितिमा प्रदर्शनीको भूमिका अझै बढेको बताए ।
अध्यक्ष पौडेलले यस पटकको प्रदर्शनीलाई प्रविधि मैत्रीका साथै दर्शक मैत्री बनाउन नयाँ अनुभूति र सन्देश दिने गरी कार्यक्रमहरु अगाडी बढाएको जनाउँदै विभिन्न क्षेत्रहरुबाट आएका राम्रा र कार्यान्वयन गर्न सकिने कुराहरुलाई सकेसम्म कार्यान्वयन गरेर जाने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा पत्रकारहरु दिनेश पाण्डे, यमलाल भुसाल, अमृता अनमोल, भगवती पाण्डे, हरिश ढकाल, विष्णु प्रसाद घिमिरे, नरेश केसी, मिना ढकाल, दामोदर खनाल, लक्ष्मण पौडेल, कृष्ण खनाल लगायतले प्रदर्शनीलाई विगतको भन्दा भिन्न र आलोचना रहित बनाउन आग्रह गरेका थिए । उनीहरुले विगतमा भएका कमजोरी दोहोरिने वातावरण नबनाउन आग्रह गर्दै प्रदर्शनी अवधिभर विभिन्न क्षेत्रका विज्ञहरुलाई आमन्त्रण गरि आर्थिक क्षेत्रमा देखिएका समस्या तथा औद्योगिक विकास विषयमा छलफल चलाउन, प्रदर्शनीमा गुणस्तरीय उत्पादनहरु राख्न र मुल्य सुचीमा एक रुपता बनाउन, होटल रेष्टुरेष्टमा ताजा खानाको व्यवस्था, स्थानिय कलाकारहरुलाई प्राथमिकता दिन सुझावहरु दिएका थिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, महासचिव हरी बहादुर खत्री, कोषाध्यक्ष हिरामणी भट्टराई, महिला सचिव मञ्जु भुसाल, प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी लगायतको उपश्थिति रहेको थियो ।
बुटवल मण्डपमा निमार्ण भैरहेको आधुनिक अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पुष ७ गतेदेखि १९ गतेसम्म संचालन हुने उक्त प्रदर्शनीमा विभिन्न उत्पादनका गरी ३ सय ५० स्टलहरु रहने आयोजकले जनाएका छन् । प्रदर्शनी स्थलमा अहिले धमाधम संरचना निर्माणको काम भइरहेको छ । केही दिन देखि प्रचार प्रसारको कामलाई ल्याउन प्रचारप्रसारको कामलाई पनि तिव्रता दिइएको छ ।