२०८१ आश्विन ४

खेलकुद परिषद्का सदस्य सचिव घिसिङले गरे नवीन माविको निरीक्षण
  • लुम्बिनी खोज
  • २०७९ पुष १, शुक्रबार १०:३० गते
बुटवल ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रवार नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. को निरीक्षण गरेका छन ।
निरीक्षणको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव घिसिङले विद्यालय किताव अध्ययन गर्ने मात्र नभएर विद्यार्थीको सबै पक्षको विकास गर्ने स्थान भएको बताएका थिए ।उनले विद्यार्थी सानो उमेर देखि खेलकुदमा संलग्नता भएमा विद्यालय र विद्यार्थीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान  पाउने बताएका थिए ।  निरिक्षणका क्रममा उनले  विद्यालयले आइटीएफ तेक्वान्डो डब्लु टिएफ, तेक्वान्डो, कराते, स्काउट र अन्य विद्याका खेलहरुलाई योजनाबद्व रुपमा संचालन गरेकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषदले सहकार्य गर्ने भनाई राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले राष्ट्रिय खेलकुद परिषद्को मातहतमा संचालन हुने पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको बजेट प्रयाप्त नभएको र विद्यार्थीको उमेर तथा वाहिरबाट खेलाडी ल्याउने गलत प्रवृत्तिलाई व्यवहारिक र बैज्ञानिक कार्य योजना ल्याएर व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
 विद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा ,खेलकुद प्रशिक्षक नवराज खरेलको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एवं नेपाल आइटीएफ तेक्वान्डो महासंघका केन्द्रीय अध्यक्ष अन्जन धमला लुम्विनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराई, विविसी नेपाली सेवाका वरिष्ठ संवाददाता निरन्जन राजबंशी, कालिका मानवज्ञान मा.वि. का अध्यक्ष होम बहादुर गलामी विद्यालयका सहायक प्र.अ. अर्जुन खनाल, इसीय इन्चार्ज दीपक ज्ञवाली, व्यवस्थापन समूह शिक्षक केशव भण्डारी, डब्लु टिएफ प्रशिक्षक गणेश कुँवर लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा  आइटी एफ,डब्लु ती एफ, कराते, स्काउट फिल्ड ट्रयाक भलिवल, कवड्डी लगायत विद्याका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।