२०८२ कार्तिक २७

प्रर्दशनीमा कृषिका कुरा, आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धनमा जोड
  • लुम्बिनी खोज
  • २०७९ पुष १२, मंगलवार १४:३९ गते

बुटवल, १२ पुस ।
कृषि क्षेत्रका सरोकारवालाहरुले कृषिजन्य बस्तुको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् । किसान, व्यवसायी तथा अन्य सरोकार वाला निकायको सहभागीतामा भएको कार्यक्रममा बोल्दै अधिकांश किसानहरुले किसान मैत्री नीति ल्याउनको लागि सरकारसँग माग गर्दै कृषिमा विविधिकरण ल्याउन समेत अनुरोध गरेका छन ।
१५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार प्रदर्शनी स्थल बुटवल मण्डपमा गरेको कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीमा सहभागिहरुले कृषि क्षेत्रका समस्याहरु समेत राखेका थिए । कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले स्वदेशी उत्पादनको पहिचान र कृषि तथा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि सबैको चासो बढाउने उद्देश्यले आयोजित प्रदर्शनीमा कृषि जन्य उद्योगको सम्भावनाको खोजी गर्दै त्यसका चुनौतिहरु समाधान गर्न सम्बन्धित निकायका प्रतिनिधि र सरोकारवालालाई एकै थलोमा जम्मा गराउने काम गरेको बताए ।
उनले किसानका आवश्यकताको पहिचान गरी उनीहरुको वर्गिकरण गरेर मल, बीउ, विजुली तथा प्राविधिक क्षेत्रमा सहयोग दिने र ब्यवसायिक कृषकहरुलाई सहुलियत ब्याजदरमा ऋण प्राप्त गर्ने अवसर सिर्जना नगर्दासम्म कृषिको विकास हुन नसक्ने धारणा राखे ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका महाशाखा प्रुमख शिव प्रसाद अर्यालले किसानको समस्या सामाधानको लागि प्रदेश सरकार र मन्त्रालय निरन्तर लागिरहेको जानकारी दिंदै समस्या समाधानका लागि पटक पटक पहल समेत गरिएको दावी गरेका थिए ।
दोस्रो कार्यपत्र प्रस्तुत गर्दै प्रदेशकोे पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा.परवेज आलमलले प्रदेशमा पशु पन्छि क्षेत्रको अवस्थाका बारेमा चर्चा गरेका थिए ।
कार्यपत्र माथि टिप्पणी गर्दै सहकारी विज्ञ तथा रुपन्देही उद्योग संघका आर्थिक सल्लाहाकार डा.खगराज शर्माले कृषि क्षेत्रको विकासका लागि सहकारी मोडेलमा एकिकृत सेवाको प्रवाह गर्न नसक्दासम्म कृषिको विकास हुन नसक्ने बताए । अर्का टिप्पणीकर्ता नेपाल लाईभस्टक ईनोभेसन आयोजना बुटवलका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा.गान्धीराज उपाध्यायले पशुपंक्षि क्षेत्रमा नेपालमा धेरै राम्रा कामहरु भएको भए पनि त्यसको दिगो पनाको अभाव भएको बताउँदै पशु व्यवसायी तथा कृषकलाई प्राबिधिक सेवाको पहुँच, पशु सेवा प्राविधिकको ब्यवस्था तथा स्थानीय श्रोतको सहि परिचालन गर्नु जरुरी रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, गैडहावा गाउँपालिकाका प्रमुख सुरेन्द्रराज पौडेल, संघका अध्यक्ष माधव प्रसाद पौडेल, महासचिव हरि बहादुर खत्री, कार्यक्रम संयोजक राजु घिमिरेलगायतले कृषि क्षेत्रको चर्चा गरेका थिए ।