२०८२ माघ २३
बुटवल २२ पुस ।
बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरको ४७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रवार भव्य रुपमा सम्पन्न भएको छ ।
वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै लुम्विनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले यस विद्यालयमा सबै बर्गका अभिभावकहरुले पढाउने हुँदा यस विद्यालय सबैको साझा सम्पति र प्रदेशको गहना भएकोले विद्यालयको विकास, विस्तार र संरक्षणमा पहल गर्ने धारणा व्यक्त गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिक्षाको अवशरबाट बुटवल उपमहानगरपालिकामा कोहि पनि बन्चित नहुने र बुटवल उपमहानगरपालिकाले प्राथमिकताका साथ् हेर्ने धारणा व्यक्त गर्दै बुटवलका सबै विद्यालयलाई विकास गर्न बुटवल उपमहानगरपालिकाले योजना वद्व रुपमा विकास गर्न संघीय सरकार र प्रदेश सरकारसंग सहकार्य गर्ने विचार व्यक्त गरे ।
शिक्षाविद प्राध्यापक आनन्दमान सिंह शाक्यले अभिभावकहरुले वालवालिकाहरुको सिकाइमा सहयोगी भूमिका निर्वाह गर्नु पर्ने र आफ्नो बच्चालाई तनाव रहित वातावरण सिर्जना गरि बच्चाको लागि समय दिन आग्रह गरे ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्याल, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला संयोजक निर्मल जि.सी. र विद्यालय व्यवस्थापन समितिकी सदस्य कमला भण्डारी ज्ञवाली लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा लुम्विनी बौद्व विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य,बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक राम चन्द्र क्षेत्री, रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, कालिका मानवज्ञान मा.वि.का प्र.अ. दिनेश थापा, कान्ति मा.वि.का प्र.अ. गोबिन्द ज्ञवाली, नयाँगाउँ मा.वि. सहायक प्र.अ. विष्णु काफ्ले लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले आ.व.२०७८÷७९ को करिव ११ करोड ३९ लाख ७१ हजार ४ सय ९६ रुपयाको आय.व्यय विवरण, विद्यालयको भौतिक, शैक्षिक, व्यवस्थापकीय प्रतिवेदन सो को विश्लेषण र भावी योजनाहरु प्रस्तुत गरेका थिए । .

उक्त अवशरमा विद्यालयको समग्र गतिविधि समेटेर प्रकाशन गरिएको नवीन दर्पण २०७९ को विमोचन गरिएको थियो । विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयमा व्यवस्थापन समूह अन्तर्गत होटल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरुले पढ्दै कमाउदै कार्यक्रम (Out Door Catering) अन्तरगत कमाएको १ लाख ७८ हजार दुइ सयको चेक विद्यार्थी शरण गहतराजलाई र १५ औ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७९ मा प्रदर्शनी आइडलमा तृतीय हुन सफल व्यवस्थापन समुहकी विद्यार्थी एन्जिला क्षेत्री खत्रीलाई बुटवल उपमहानगरपालिकाका प्रमुखले सम्मान गरेका थिए । कक्षा ८ को परीक्षा,एसइई र कक्षा १२ को वोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु, २.८ जीपिए माथि वा ७० प्रतिशत भन्दा बढी विषयगत उपलब्धिस्तर प्राप्त गराउने शिक्षक, प्रशिक्षक,वि.व्य.स.का पुर्व अध्यक्ष एवं सदस्य, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष एवं सदस्य, पुर्व प्रधानाध्यापक र दीर्घ सेवी शिक्षक लगायत अन्यलाई सम्मान गर्नुका साथ् अतिरिक्त क्रियाकालापमा उत्कृष्टता प्राप्त गर्ने विद्यार्थीहरु, नवीन विद्यार्थी क्लवद्वारा संचालित व्यक्तित्व, नेतृत्व विकास एवं शैक्षिक गुणस्तरलाई टेवा पुग्ने र मैत्रीपूर्ण खेलहरुका विजेतालाई पुरस्कार तथा प्रमान पत्र प्रदान गरिएको थियो .
विद्यालयमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने गरि हाजिरी जवाफ, वादविवाद, निवन्ध,हिसाव दौड, श्रुतिलेखन, हिज्ये प्रतिस्पर्धा, फिल्ड, ट्रयाक, एथलेटिक्सका खेलहरु, भलिवल, फुटवल खेलाइएको थियो । जसको समन्वय खेलकुद प्रशिक्षक नवराज खरेलले गरेका थिए । विद्यालयमा तहगत बढी हाजिरी, सरसफाई, अनुशासन र राम्रो कार्य सम्पादन गर्ने विद्यार्थी, कक्षा क्याप्टेनलाई पनि सम्मान गरिएको थियो .
विद्यार्थीहरुले अर्जुन शाह ठकुरीको संयोजनमा उत्कृष्ट नृत्य प्रदर्शन गरेका थिए . साथै उक्त अवसरमा व्यवस्थापन समूह कक्षा १२ ए का विद्यार्थीहरुले वार्षिकोत्सवको अवसरमा विद्यालय भित्र चिया बिक्रि गरि संकलित रकमले यस विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री र न्यानो कपडाहरु उपमहानगरपालिकाका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा, शिक्षक केशवराज पन्थको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य स.प्र.अ. रोमनाथ घिमिरेले राखेका थिए ।
विद्यालयले व्रिटिश काउन्सिलद्वारा International School Award २०१७–२०२० र २०२१–२०२४ प्राप्त गर्नुका साथै अंग्रेजी पत्रिका कलेज रिडर्सद्वारा दुबईमा उत्कृष्ट सामुदायिक विद्यालय २०२२ बाट सम्मानित भएको थियो . विद्यालयमा मन्टेश्वरी देखि १० सम्म पूर्ण अंग्रेजी माध्यममा कक्षा ११ र १२ विज्ञान,व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा अध्यापन हुदै आएको छ र हाल विद्यालयमा ४१०० जना विद्यार्थीहरु अध्यनरत छन् भने १६१ जना शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् .