२०८१ आश्विन ८

रेसुंगा विमानस्थलमा डेमो उडान सम्पन्न
  • लुम्बिनी खोज
  • २०७९ पुष २५, सोमबार १६:३३ गते

गुल्मी ।

गुल्मीको रेसुङ्गा विमानस्थलमा निर्माणको काम सुरु भएको १६ बर्षपछि ‘रेसुङ्गा बिमानिस्थल’ मा परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका –१० सिमिचौरमा रहेको बिमानिस्थलमा परीक्षण उडान अर्थात डेमोस्टे«शन उडान गरिएको छ । आइतबार तारा एयरको ‘९ एन्–ए–एलओ कल साइन’ रहेको ट्विनेटर जहाजले सफल परीक्षण उडान गरेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानिस्थलबाट बिहान ११ ः १४ बजे उडेको जहाज ४७ मिनेटपछि रेसुङ्गा बिमानिस्थलमा अवतरण भएको थियो । जहाजलाई तारा एयरका बरिष्ठ चालकद्धय क्याप्टेन सन्तोषकुमार शाह र सन्जिव श्रेष्ठले उडाएका थिए । नेपाल नागरिक उड्ययन प्राधिकरण, तारा एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपनि परीक्षण उडान गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । जहाज करिब एक घण्टापछि काठमाडौ फर्किएको थियो ।

पहिलो पटक हवाईयात्रीका रुपमा गुल्मी आइपुगेका नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले विमानस्थल निर्माणमा ढिलाइ हुँदा चिल उडेका फोटोहरु खिचेर ट्रोल बनाउने व्यक्तिहरुका कारण नियमित उडान चाँडो बनाउन सम्भव भएको बताए । उनले भने, ‘यो विमानस्थल निर्माण ढिलाइ हुँदा चिलका फोटोहरु खिचेर ट्रोल बनाउनुभयो, यसले मलाई चाँडो उडानका लागि उत्साह थप्यो । ’ ज्ञवालीले विमानस्थलको अवधारणा, शिलान्यास र सम्पन्न भएर नियमिति उडानको प्रक्रियासम्मको सहयात्री बन्न पाउँदा खुसी व्यक्त गरे ।

विमानमा पहिलो यात्रीका रुपमा गुल्मी आएकी एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले अब नियमित उडानको लागि तयारी गर्नुपर्ने बताइन् । उनले खर्च गर्ने क्षमता भएपछि नियमित उडान हुने तर सुविधाका लागि भन्दा पनि बिरामी हुँदाका लागि उडान हुनुपर्ने बताइन् ।