२०८२ माघ २३
बुटवल ।
लुम्बिनी प्रदेश सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा बिहिबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालय घटाउने निर्णय गरेको हो ।
यसअघि नेपाली कांग्रेसको समर्थनमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री रहँदा ९ मन्त्रालयबाट बढाएर १३ र ४ राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद बनाइएको थियो । अहिले गठबन्धन दलमा नै मुख्यमन्त्री गिरीले मन्त्रालय घटाएर लैजाने पूर्वसहमति गराएका छन् । अघिल्लो सरकारमा ५ दलको सहभागीता थियो भने अहिले ७ दलको सहभागिता रहेको छ ।
यसअघि मुख्यमन्त्री लीला गिरीले शपथग्रहणसँगै पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणपछि बोल्दै गिरीले प्रदेशको कार्यान्वयनसँगै आर्थिक अवस्थाको सुधारमा आफ्नो ध्यान रहने उनले बताए । प्रदेशमा कृषि, पर्यटनलगायतको माध्यमबाट विकासलाई अघि बढाउने उनले बताए । गठबन्धन दलको सहमतिमा मन्त्री परिषद विस्तार गरिने उनले बताए ।
गिरीसँगै एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्रको तर्फबाट नेतृ कृष्णा केसीले विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् । लुम्बिनी प्रदेशका ५८ जना सांसदहरुको सहमतिमा सरकार गठन भएको हो । एमाले-माओवादीसँगै राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी र २ स्वतन्त्र सांसदहरुको समेत समर्थन रहेको छ ।