२०८२ कार्तिक २७

प्रहरी तथा राजश्वका प्रमुखहरुलाई उवासंघको स्वागत
  • लुम्बिनी खोज
  • २०७९ माघ ९, सोमबार १०:२२ गते

बुटवल ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यस क्षेत्रका नवआगन्तुक सरकारी कर्मचारीलाई स्वागत गरेको छ । संघले सोमबार एक कार्यक्रम गरी हालै सरुवा भई आएका राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख प्रेमप्रसाद देवकोटा, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारी र ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापालाई स्वागत गरेको हो ।
त्यसै अवसरमा अर्बुद रोग निवारण संस्था रुपन्देहीको अध्यक्षमा निर्वाचित भएका संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल र रुपन्देही बचत तथा ऋण सहकारी संघको अध्यक्षमा निर्वाचित संघका कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाललाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोरोना महामारी, बैंकमा लगानी योग्य पुँजी (तरलता) अभाव र बैंकको चर्को व्याजका कारण मारमा परेका उद्योगी व्यवसायीलाई संरक्षण गर्ने दायित्व सरकारी निकायको पनि भएको बताउँदै व्यवहारिक बनिदिन आग्रह गरे । बुटवलमा पार्किङको समस्या रहेको अवगत गराउँदै पार्किङलाई समेत सहज हुनेगरी ट्राफिक व्यवस्थापनको लागि समेत उनले आग्रह गरे ।
त्यस्तै संघका पूर्व अध्यक्ष शंकरप्रसाद श्रेष्ठले उद्योगी व्यवसायीप्रति सहयोगी बनिदिन सरकारी कार्यालयका प्रमुखहरुलाई आग्रह गरे ।
त्यस अवसरमा बोल्दै राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख प्रेमप्रसाद देवकोटाले सिमामा हुने तस्करी नियन्त्रण र राजश्व चुहावटलाई मिसनको रुपमा अगाडि बढाएको जानकारी गराउँदै त्यसमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख श्यामकृष्ण अधिकारी, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले नागरिकको शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा प्रहरी र ट्राफिक प्रहरीको जिम्मेवारी भएको बताउँदै नीति नियम र कानुनले निर्दिष्ट गरे अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराईले मुलुकमा देखा परेको आर्थिक मन्दिका कारण उद्योगी व्यवसायी समस्यामा परेको बताउँदै व्यवहारिक हुन र उद्योगी व्यवसायीलाई कसरी पर्वद्धन गर्न सकिन्छ, त्यसमा सहयोग गर्न आग्रह गरे ।