२०८१ श्रावण १२

प्रदेशसभाको प्रभावकारिता सम्वन्धमा छलफल
  • लुम्बिनी खोज
  • २०७९ माघ २०, शुक्रबार १४:४० गते

बुटवल २० माघ ।
लुम्विनी प्रदेश सभाको स्थापना दिवसका अवसरमा प्रदेश सभाको प्रभावकारितामा सञ्चारको भुमिकाका सम्वन्धमा शुक्रवार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
संसदीय मामिला पत्रकार समाज, लुम्बिनीको आयोजना र प्रदेशसभा सचिवालयको सहकार्यमा देउखुरीमा माघ २० गते शुक्रबार भएको प्रदेशसभाको प्रभावकारितामा सञ्चारमाध्यमको भूमिका विषयक अन्र्तक्रियामा बोल्दै लुम्बिनी प्रदेशसभाका सभामुख तुलराम घर्तीले प्रदेशसभालाई प्रभावकारी बनाउने गरी योजना बनाइने बताए । प्रदेशसभा कानून निर्माणको महत्वपूर्ण थलो भएको भन्दै उनले त्यसलाई प्रभावकारी बनाउनका लागि आफूले भूमिका निभाउने प्रतिवद्धता जनाए ।
सांसदहरुमा विधेयक पढ्ने प्रवृत्ति निकै कम भएको भन्दै त्यसमा सुधार गर्दै सबै सांसदलाई कानून निर्माणमा सक्रिय बनाउने उनले बताए । विगतको प्रदेशसभाका २५ प्रतिशत सांसदहरुले मात्रै विधेयक अध्ययन गर्ने गरेको स्मरण गर्दै त्यसमा सुधार हुनै पर्ने उनले बताए । सभामुख घर्तीले संसदको प्रभावकारिताका लागि मिडियाकातर्फबाट पनि सहयोग पुराउन आग्रह गरे ।
‘सांसद, पत्रकार सबै क्षेत्रको भूमिकाले नै संसदको कार्य प्रभावकारी रहन्छ, उनले भने,–‘सबैले आआफ्नो क्षेत्रबाट काम गर्दा उपलब्धीहरु हासिल हुन सक्छन् ।’ दोस्रो प्रदेशसभामा अधिकांश नया सांसदहरु आउनुभएकाले अनुभव आदानप्रदानबाट कामकारबाही गर्ने उनले बताए । आफूले सभामुखको निष्पक्षतालाई कायम राख्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै उपसभामुख मेनुका खाँण केसीले संसदको गरिमालाई कायम राख्न प्रदेशसभा र सञ्चारकर्मीबीच सुमधुर सम्बन्ध रहनुपर्ने बताइन् । ‘गर्दै सिक्ने, सिक्दै गर्ने चरणबाट प्रदेशसभामा आएका छौं, यसलाई प्रभावकारी बनाउनका लागि महत्वपूर्ण भूमिका सबैले निभाउनुपर्छ, उनले भनिन् ।
उपसभामुख खाँणले जनताको आवाज उठान हुने प्रदेशसभालाई सक्रिय बनाउन सदस्य सबैको भूमिका रहने भएकाले त्यसलाई कसैले भुल्न नहुने बताइन् । कानून निर्माण, नियमनका काममा समितिहरुलाई सक्रिय बनाउदै सभालाई मर्यादित बनाउन आफूले काम गर्ने उनले बताइन् ।
अन्र्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले पहिलो प्रदेशसभाले कानून निर्माणमा महत्वपूर्ण कार्य गरेको बताए । संसदको समाचार लेखन गम्भिर विषयबस्तु हुने भएकाले सञ्चारकर्मीले अध्ययन गरेर लेखन गर्नुपर्ने बताए । प्रदेशसभा सञ्चालन नियमावलीलाई अध्ययन गरे संसदको धेरै काम कारबाही जानकारी हुने भन्दै प्रदेशको सूचना प्रवाहमा सहकार्य गरिने बताए ।
त्यस्तै मिडियाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै संसदीय मामिला पत्रकार समाजका कोषाध्यक्ष लक्ष्मण पोखरेलले संसदीय पत्रकारिता सहज नहुने भन्दै बुझेरमात्रै लेखन गर्नुपर्ने बताए । प्रदेशसभाका बैठक, शुन्य समय, विशेष समयमा उठान भएका विषयवस्तु, संसदीय समितिका गतिबिधि, प्रतिवेदनहरु समाचारका स्रोत हुने भन्दै त्यसको नियमित अध्ययन गर्न आवश्यक हुने उनले बताए ।
कार्यपत्रमाथि संसदीय पत्रकार हरिष ढकाल र दशरत घिमिरेले टिप्पणी गर्दै प्रदेशसभाले सूचना प्राप्तीमा सहजीकरण गर्नुपर्ने र सांसदहरुलाई आफ्नो काम के हो भन्ने विषयमा ज्ञान दिलाउनुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष विष्णप्रसाद घिमिरेले मर्यादित पत्रकारिताका लागि क्षमता विकासको काममा प्रदेशसभाले ध्यान दिनुपर्ने बताए । ‘सांसद र पत्रकारहरुका लागि संसदीय विषयमा तालिमको खाँचो छ, उनले भने,–‘दक्षता अभिवृद्धिले मात्रै प्रदेशसभा प्रभावकारी हुन सक्दछ ।’ उनले संसदीय मामिला पत्रकार समाजले पत्रकारको क्षमता अभिवृद्धि, अध्ययन, अनुसन्धान कार्यमा सहकार्य गर्न सक्ने बताए ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनीका सदस्य टीआर शर्मा, अकोराव लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष केपी घिमिरे लगायतले बोल्दै संसदीय पत्रकारिता ज्यादै गहन विषय भएको र यसमा अनुमानका आधारमा सांसदका भनाईहरु लेख्न नहुनेमा जोड दिए । सूचना प्रवाह र उपलब्धतामा प्रदेशसभाले भूमिका निभाउनुपर्ने उनीहरुको सुझाव थियो ।
प्रदेशसभा स्थापना दिवसको पूर्वसन्ध्यामा भएको कार्यक्रममा प्रदेशसभाका पदाधिकारी तथा दाङ, रुपन्देही, अर्घाखाँचीका सञ्चारकर्मीको सहभागिता रहेको थियो । प्रदेशसभाले माघ २१ गते स्थापना दिवस मनाउदैछ ।