२०८१ श्रावण १२

टर्कीमा विनाशकारी भूकम्प
  • लुम्बिनी खोज
  • २०७९ माघ २३, सोमबार ०९:५० गते

काठमाडौ ।   शक्तिशाली भूकम्पका कारण ५०० जनाभन्दा बढीको ज्यान गएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्।

टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए।

उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ। हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो। टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भनेका छन्, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ।”

उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए।

भूकम्प गएको स्थान दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो। सन् १९९९ मा देशको उत्तर-पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए। यसैबीच संयुक्त राज्य अमेरिकाले उक्त विपद्का विवरणबाट आफू गम्भीर रूपमा चिन्तित रहेको जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पुर्‍याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिएका छन्।

विविसी नेपाली सेवाबाट