२०८१ श्रावण १२

लुम्बिनीको मायादेवी मन्दिरमा आधुनिक गजुर
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ९, मंगलवार १५:४२ गते

लुम्बिनी  ।

लुम्बिनीस्थित मायादेवी मन्दिरमा नयाँ गजुर राखिएको छ। यसअघि राखिएको गजुर जीर्ण भएपछि आधुनिक गजुर राखिएको लुम्बिनी विकास कोषले जनाएको छ।मन्दिरमा दाताहरूको सहयोगमा तयार पारिएको स्वयम्भु स्तुपा आकारको आधुनिक गजुर राखिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए। गजुर स्थापनाका लागि थाइल्यान्डका बुद्धमार्गी रतना मालिनोंग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेका कोषले जनाएको छ।

मंगलबार दाता मालिनोंग लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिइएको हो। यसअघि राखिएको गजुर पुरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेका बेला थाइल्यान्डबाट सहयोग प्राप्त भएको कोषका सदस्यसचिव शाक्यले जानकारी दिए।

स्वयम्भु स्तुपाको मोडेलमा रहेको गजुर करिब ३ महिना लगाएर तयार पारिएको हो। गजुरको बाहिरपट्टिको भागमा सुनको जलप लगाइएको छ। यसअघिको मन्दिरको गजुर बाँदरले हल्लाउँदा ढल्कने र पार्टपुर्जाहरू खिइएकाले मर्मत गर्नुपर्ने बेला भएको थियो। गजुरसँगै बुद्ध जन्म स्मारक (मार्कन स्टोन)को  कभर स्थापनाका लागिसमेत टोलीले सहयोग गरेको कोषले जनाएको छ।

दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन्।  आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब ६० लाख खर्च भएको शाक्यले बताए।