२०८१ श्रावण १२

राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १३, शनिबार १६:३६ गते

काठमाडौँ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एमालेले पनि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार खडा गरेको छ ।  एमालेले २५ गतेसम्म आफ्नो पक्षमा नतिजा ल्याउने रणनीतिका साथ तत्काल सरकारमै रहेर राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । शनिबार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पुगेर पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराए । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् ।  यस्तै  समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। पौडेलअघि नै नेम्वाङले संसद भवन पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।  नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक  रहेका छन् ।  यस्तै समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् । एमालेले कांग्रेसबाहेकका सबै दललाई राष्ट्रपतिमा सघाउन पत्राचार गर्ने निर्णय पनि गरेको छ ।