२०८१ आश्विन १

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिँदै
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ६, सोमबार १०:५० गते

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिँदै छन् । सत्तागठबन्धनमा रहेका दलहरूसँग सुविधाजनक बहुमत छ । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले २६ पुसमा संसदको ९९.२६ प्रतिशत विश्वासको मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको ८७, माओवादीको ३२, रास्वपाको १९, जसपाको १०, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४, नाउपाको ४, जनमोर्चा र आम जनता पार्टीका एक–एक सांसदले विश्वासको मत दिने निश्चित छ । यसबाहेक स्वतन्त्र सांसद अमरेशकुमार सिंह, योगेन्द्र मण्डलले पनि विश्वासको मत दिने बताएका छन् । यो संख्या एक सय ७६ हुन आउँछ । यसमा पनि माओवादीका वर्षमान पुन, कांग्रेसका चन्द्र भण्डारी र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित हुन नसक्ने अवस्था छ ।

एमाले ७८, राप्रपा १४ र नेमकिपा एक मात्रै विपक्षमा खुलेका छन् । पहिलोपटक उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदको विश्वास जितेका प्रचण्डले यसपटक एमाले, राप्रपा र नेमकिपाको ९३ मत पाउने छैनन् । एमाले र राप्रपाले सरकार छाडेपछिको नयाँ समीकरणमा दोस्रोपटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डले संसद्को शतप्रतिशत विश्वास पाउने दाबी गरेका छन् । आइतबार संसद्बाट बाहिरिने क्रममा प्रचण्डले ‘सय प्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा छ’ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन २ चैतमा संसद् सचिवालयलाई पत्र पठाएकोमा सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा जानकारी गराएका थिए । १० पुसमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारबाट १३ फागुनमा राप्रपा र १५ फागुनमा एमालेले समर्थन फिर्ता लिएको थियो । राष्ट्रपति चुनावलाई लिएर १३ फागुनमा कांग्रेससहित आठदलीय सत्तागठबन्धन बनेपछि समीकरण फेरिँदा प्रधानमन्त्री दाहालले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १०० (२) मा ७६ (२) बमोजिमको मिलिजुली सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । विश्वासको मत सिद्ध गर्न बहुमत अर्थात् एक सय ३८ सांसद आवश्यक पर्छ ।