२०८१ श्रावण १२

बुटवलभित्रका निर्माणका काम वर्षाअघि पूरा गर्न निर्देशन
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १०, शुक्रबार ११:३७ गते

बुटवल, १० चैत ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका मुख्यमुख्य योजनाहरुको अनुगमन गर्दै वर्षाअघि नै सबै योजनाहरुको काम सम्पन्न गर्न निर्देशन दिएका छन ।
चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने संघ, प्रदेश र बुटवल उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन योजनाहरुको शुक्रबार प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसहित बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको थियो ।
बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको सडक क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र, योगीकुटीदेखि रानीगञ्जसम्मका सडक, अभियान पथको पर्खाल र निर्माणाधीन योजनाहरुको अनुगमन गदै प्रमुख पाण्डेयले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई सचेत गराए ।
उनले निर्माण शुरु गरेर निर्माण गर्नुपर्ने अवधिभित्र पूरा गर्नेलाई पुरस्कृत गर्ने र समयमा निर्माण पूरा नगर्ने कम्पनीलाई दण्डित गरिने बताए ।
नगरप्रमुख पाण्डेयले बुटवलभित्र निर्माण हुने संरचनाको काम समयमै सम्पन्न गर्नका लागि संघ र प्रदेशलाई समेत ताकेता गर्न आग्रह गर्ने र समयमा पूरा हुनसक्ने गरी बजेट विनियोजन भएका योजनाहरु समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने बताए ।

नदीजन्य पदार्थको चोरीनिकासी रोक्न अनुगमन
बुटवल उपमहानगरपालिकाको टोलीले तिनाउ नदीकिनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका लागि नियमित अनुगमन गर्न टोली खटाएको छ ।
बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरीनिकासी बढेको पाइएको र सीमावर्ती स्थानीय तहहरुमा निर्माण भइरहेका संरचना र निर्माण कम्पनीहरुको समेत निगरानी गर्ने र स्थानीय तहहरुसँग छलफल गरेर नियमनमा ल्याउने बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताए।
उनले नदीजन्य पदार्थको चोरीनिकासी रोक्ने र आगामी वर्षामा बाढी र कटान रोक्नका लागि सुरक्षित बनाउने गरी काम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिए।
प्रमुख पाण्डेयले नगरप्रहरीसहितको टोलीले नियमित रुपमा निगरानी गर्ने र चोरीनिकासी रोक्नका लागि स्थानीयको समेत साथ आवश्यक रहने बताए। उनले जिल्ला र नगरको सुरक्षानिकायलाई समेत चोरीनिकासमा थप संवेदनशील बन्नका लागि आग्रह गर्ने बताए ।