२०८१ श्रावण १२

अर्थतन्त्र माथि उकास्न साझा प्रयत्न जरुरी रहेकोमा नेताहरुको जोड
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ११, शनिबार १४:१३ गते

बुटवल, ११ चैत ।
मुलुकमा ब्याप्त आर्थिक मन्दी र संभावित बित्तिय संकट समाधान गर्न सबैको साझा प्रयास आवश्यक रहेको प्रमुख दलका नेताहरुले बताएका छन् । केही समय यता उद्योग ब्यबसाय क्षेत्रमा देखा परेको आर्थिक संकट र बित्तिय क्षेत्रमा उत्पन्न तरलता अभाव जस्ता समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाटै साझा निष्कर्ष निकाल्नु पर्ने नेकपा एमाले र नेपाली काँग्रेसका प्रभावशाली नेताहरुले बताएका छन् ।
राजश्व संकलनका हिसावले बिगत ५० बर्ष यताकै सबैभन्दा निराशाजनक अवस्था रहेको उल्लेख गर्दै प्रमुख दलका प्रभावशाली नेताहरुले बजेटको साधारण खर्चसमेत धान्न नसक्ने अवस्था सिर्जना हुने संभावना रहेको बताए । बुटवलमा आयोजित पश्चिम नेपाल बस ब्यबसायी प्रालीको कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको संकटउन्मुख आर्थिक अवस्थालाई जिम्मेवार दलहरुले साझा धारणा बनाएर समाधान गर्नुपर्ने बताए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृहमन्त्री बालकृष्ण खाणले मुलुकको आर्थिक समस्या समाधानका लागि सरकार, प्रतिपक्ष दल र निजि क्षेत्रको सामुहिक रुपमा सहकार्य, समन्वय र साझा प्रयत्न हुनुपर्ने धारणा ब्यक्त गरे ।
नेपाल यातायात ब्यबसायी महासंघका अध्यक्ष बिजय स्वांरले यातायात क्षेत्रका समस्या समाधानमा सरकारले चासो देखाउनु पर्ने बिचार ब्यक्त गरे ।
कार्यक्रममा पश्चिम नेपाल बस ब्यबसायी प्रालीका अध्यक्ष दधिराम खरेल, उपाध्यक्ष जिवन बन्जाडे, प्रबन्ध संचालक रामचन्द्र भुसाल, पुर्व अध्यक्ष चोप नारायण श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, पश्चिमान्चल ट्रक समितिका अध्यक्ष यामप्रसाद पाण्डे, भलाई कोषका अध्यक्ष दिनेश फुल्लेललगायतले यातायात ब्यबसायीहरुका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए । त्यस्तै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे, माओवादी केन्द्रका निर्मल जिसि, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगायतले पनि यातायात क्षेत्रका बारेमा चर्चा गरेका थिए ।