२०८१ श्रावण १२

पेट्रोल र डिजेलकाे भाउ बढ्याे
  • लुम्बिनी खोज
  • २०७७ माघ ६, मंगलवार ०८:१६ गते

५ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।
बढेको मूल्यसंगै पेट्रोलको नयाँ भाउ प्रतिलिटरमा ११० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैया कायम भएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको प्रवक्ता उपाध्ययले बताए ।भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार बढेको भाउ प्राप्त भएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । बढेको मूल्यअनुसार पेट्रोलमा ७.६१ पैसा, डिजेलमा ६.३९ पैसा, मटीतेलमा ६.४ पैसा प्रतिलिटर घाटा छ ।
यस्तै हवाई इन्धनमा ६.९० पैसा तथा खाना पकाउने ग्याँसमा १९.०६ पैसा नोक्सानी थियो । पछिल्लो मूल्य बृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा २ रुपैयाँ ९६ पैसा तथा खाना पकाउने ग्याँसमा १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

मूल्य नबढाउँदा १५ दिनमा निगमलाई ६७ करोड ५५ लाख घाटा रहेकोमा अब ४९ करोड ८८ लाखमा झरेको निगमको दाबी छ । निगमको घाटा मूल्यस्थिरिकरण कोष तथा निगमको संचित नाफामार्फत समायोजन गर्ने निगमले जनाएको छ ।