२०८१ श्रावण १२

बुटवल-पाल्पा सडकखण्ड दिउँसोमा तीन घन्टा र रातिमा ६ घन्टा बन्द हुने
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २१, मंगलवार ०९:५१ गते

बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म अवरुद्ध हुने भएको छ ।

बुटवल,२१ चैत ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सिद्धबाबा सडकखण्ड  मंगलबारदेखि अवरुद्ध हुने भएको छ । सिद्धबाबानजिक सुरुङमार्ग निर्माण कार्य सुरु भएकाले सो सडकखण्ड दैनिक नाै घन्टा अवरुद्ध हुन लागेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले जानकारी दिए ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्कनजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेकाले दैनिक दुईपटक दिउँसो र राति सडक अवरुद्ध हुने प्रमुख जिल्ला पाण्डेयले बताए ।

सुरुङमार्ग निर्माणका क्रममा सडक माथिबाट खुकुला ढुंगाहरू पहरोबाट हटाउने कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगाहरू खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा वैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन्।

सरकोकारवाला निकायहरूसँगको बैठकमा राष्ट्रिय महत्वको सुरुङमार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकाले मंगलबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए ।

सडक अवरुद्धको समयमा अत्यावश्यक सवारीसाधानहरू बेलवास–दोभान सडकखण्ड वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरिएको छ । साना तथा निजी गाडीहरू र अत्यावश्यक सवारीसाधनहरूलाई उक्त वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।