२०८१ श्रावण १२

राष्ट्रपतिलाई बुटवलका मेयरको निम्ता
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २८, मंगलवार ०८:०५ गते

बुटवल २८ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले
बुटवलको जितगढी उत्सव र नयाँगाउँस्थित मुक्तिनाथ धामको उद्घाटनका लागि निमन्त्रणा दिएका छन । राष्ट्रपतिले जितगढी उत्सवमा आफु सहभागी हुने गरी तयारी गर्ने बताए । उनले बुटवलप्रति आफ्नो सद्भाव रहेको बताउदै आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताएका थिए । बुटवल उपमहानगरपालिकाका अनुसार राष्ट्रपति निवासमा नगर प्रमुख पाण्डेय, प्रतिनिधिसभा सदस्य सुरेन्द्र आचार्यसहितको टोलीले राष्ट्रपति पौडेललाई भेट गरेर निमन्त्रणा गरेको थियो ।
सो अवसरमा बुटवलका प्रमुख पाण्डेयले आगामी वैशाख ७ गते मनाइने जितगढी उत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा निमन्त्रणा दिदै बुटवलको जितगढीमा नेपालले अंग्रेजसँगको युद्धमा जित हासिल गरेको र सोही कारणले नेपालको भूभाग सुरक्षित रहेको अवगत गराएका थिए।
उनले बुटवलले जितगढी किल्लालाई पर्यटकीय स्थलका रुपमा विकास गरिरहेको र बुटवलमै निर्माणाधीन संग्रहालयले देशविदेशका पर्यटकलाई आकर्षित गर्ने पनि अवगत गराएका थिए। पाण्डेयले बुटवलको विकासमा स्थानीय सरकारका तर्फबाट सक्दो प्रयास गरिरहेको र आफ्नो कार्यकालमा बुटवललाई उपयुक्त पर्यटकीय विश्रामस्थल र सबैको रोजाइको शहरका रुपमा स्थापित गर्ने गरी काम गरिरहेको जानाकारी राष्ट्रपति समक्ष राखेका थिए ।