२०८१ श्रावण १२

पत्रकारहरुले संवेदनशील भएर कलम चलाउनुपर्छः अध्यक्ष श्रेष्ठ
  • लुम्बिनी खोज
  • २०८० बैशाख ५, मंगलवार १३:२४ गते

भैरहवा,५ बैशाख ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले मुलुकका हरेक परिवर्तनमा संचारमाध्यम र संचारकर्मीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । उनले आउँदा दिनमा पनि मुलुकको विकास, समृद्धि, संविधानको रक्षा र जनजीविकाका विषयमा पत्रकारहरुले संवेदनशील भएर कलम चलाउनु पर्नेमा जोड दिए ।
समाजवादी प्रेस संगठन नेपाल, लुम्बिनी प्रदेश कमिटीले मंगलबार भैरहवामा गरेको नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उनले समाजलाई कता डोर्याउने भन्ने कुरा संचारकर्मीको कलममा निर्भर हुने हुँदा संयमित भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले संविधानको रक्षा गर्दै मुलुकलाई अग्रगमनतर्फ बढाउनु अहिलेको आवश्यकता रहेको प्रष्ट्याए ।


‘केपी ओलीले संसद विघटन गरे र संविधानमाथि प्रहार गरे, यसकाविरुद्ध सबै लागे’, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुखसमेत रहेका श्रेष्ठले भने, ‘संविधानविपरीत भएको ओलीको कदम सर्वोच्च अदालतले सच्यायो । फेरि पनि संविधानमाथि प्रहार हुनसक्छ, सबै सचेत रहनुपर्छ ।’
उनले ओलीको गलत नीतिका कारण पार्टी विभाजन भएको र नेकपा एकीकृत समाजवादी गठन भएको जनाए ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जनताको विद्यमान समस्याको हल गर्नेगरि बिचारको राजनीति गर्नुपर्नेम जोड दिए । उनले पत्रकारिता जगत् चनाखो हुँदा मुलुकमा भएका धेरै गलत काम सच्चिएको जनाउँदै अब पनि सही ढंगबाट खोज र मिसन पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य भगवती अधिकारीले संचारकर्मीले सबैलाई समान रुपले हेर्न सक्नुपर्ने बताइन् ।
समाजवादी प्रेस संगठनका केन्द्रीय कमिटीका बरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले संगठन अहिले सानो देखिए पनि संगठनको बिस्तार गर्दै जाने र आगामी दिनमा संगठनको गुणात्मक रुपमा बिकास हुने बताए । ‘हामीले छोटो समयमा नै संगठनलाई बलियो र दरिलो बनाएका छौं, अब सबै साथीहरुलाई क्रियाशील बनाएर अझै मजबुत संगठन बनाउँछौं’, उनले भने । उनले प्रेस चौतारीमा आस्था राख्ने धेरै पत्रकारहरु अझै पनि समाजवादी प्रेस संगठनमा आबद्ध हुन खोजीरहेको जनाउँदै सबै पत्रकारहरुलाई संगठनमा गोलबद्ध गरिने बताए ।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादव, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, नेपाल प्रेस युनियन, रुपन्देही अध्यक्ष रेखा भुसाल, होटल एसोसियसन अफ नेपाल (हान) का केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लवका निवर्तमान अध्यक्ष नरेश केसीलगायतले बोल्दै पत्रकारहरुले पेसागत धर्मलाई ख्याल गरी समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनीहरुले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा दिएर पत्रकारितामार्फत् सरकारलाई झकझकाउन आग्रह गरे । समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशका अध्यक्ष हृदयराम भुसालको अध्यक्षता, संगठनका प्रदेश उपाध्यक्ष शंकरप्रसाद पाण्डेको स्वागत र कोषाध्यक्ष प्रकाश न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।