२०८१ श्रावण १२

‘गलत प्रवृत्ति र भ्रष्टाचारविरुद्ध बारको आन्दोलन’
  • लुम्बिनी खोज
  • २०७८ मंसिर ११, शनिबार १५:२९ गते

बुटवल मंसिर ।

नेपाल बार एशोसिएशनकी पूर्व कोषाध्यक्ष वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले सक्षम र भ्रष्टाचारमुक्त न्यायपालिकाको लागि नेपाल बार आन्दोलनमा होमिएको बताएकी छन् ।

नेपाल बार एशोसिएशनको तेस्रो चरणको आन्दोलन अन्तर्गत बुधबार उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन् अदालतभित्रको विकृति, विसंगति विरुद्धको अहिलेको आन्दोलन निष्कर्षमा पु¥याएर मात्र छाड्ने बताइन ।

अदालतभित्रको विकृति विसंगति हटाउन, भ्रष्टाचारमुक्त बनाउन, बिचौलिया हटाउन हालका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा असक्षम रहेकाले बारले आन्दोलन गरिरहेको उनले बताइन् । अहिलेको आन्दोलन कानून व्यवसायीहरुको मात्र सरोकारको विषय नभई आम नागरिकको हितमा रहेको उनको भनाइ छ ।

बार एशोसिएशनका केन्द्रीय सदस्य अधिवक्ता बालकृष्ण गैरेले बारको आन्दोलन कुनै व्यक्तिका विरुद्ध नभई गलत प्रवृत्ति र भ्रष्टाचार विरुद्ध रहेको बताए । न्यायाधीश नियुक्त गर्ने बेलामा रोष्टर बनाएर नियुक्त गर्न, विभिन्न आयोगहरुले औल्याएका विकृति हटाउन बारले बारम्बार आवाज उठाउँदै आए पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले अहिलको आन्दोलन कानून व्यवसायीहरुको स्वार्थमा नभई आम न्यायका उपभोक्ताको हितको लागि रहेको बताए ।

विरोध सभामा वरिष्ठ अधिवक्ताद्वय बेनबहादुर पौडेल क्षेत्री र शालिकराम बञ्जाडे, रुपन्देही जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष लोकनाथ पन्त, कपिलवस्तु जिल्ला अदालत बारका अध्यक्ष हुमबहादुर कुँवर, नवपरासी जिल्ला अदालत बारका लिलाधर मरासिनी, अधिवक्ता यमलाल खनाल उच्च अदालत बार एशोसिएशन बुटवलकी उपाध्यक्ष ज्ञानु के.सी., सचिव गोविन्दप्रसाद मरासिनी लगायतले बोल्दै आन्दोलनलाई निष्कर्षमा पु¥याएरै छाड्नुपर्ने बताए ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । तर प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।