२०८१ श्रावण १२

बौद्ध विश्वविद्यालय दिवसमा त्रियान प्रज्ञा सम्मेलन
  • लुम्बिनी खोज
  • २०७८ मंसिर ११, शनिबार १५:३४ गते

बुटवल १० मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औं विश्वविद्यालय दिवसको अवसरमा प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ । बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागेको हो ।
०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउदैछ । विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका तीन बाटोहरुको संस्कृतिलाई समृद्धिसंग कसरी जोडेर लैजान सकिन्न भन्ने विषयमा सम्मेलन गर्न लागिएको जानकारी दिए । ‘थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटा हुन, नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृति छ, त्यी सबैलाई समृद्धिसंग जोड्न कसरी सकिन्छ भन्ने कुरा विज्ञहरुमार्फत सम्मेलनमा मन्थन हुनेछन, उनले भने ।
त्रियान प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र सृमद्धि विषयमा ६ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन । मंसिर १५ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्मेलन हुनेछ । सम्मेलनको दोस्रो खण्डमा बौद्ध शिक्षा र शिक्षण पद्धतिको विषयमा तीन जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने रजिष्ट्रार आचार्यले जानकारी दिए । सम्मेलनको घोषणापत्र मंसिर १६ मा जारी हुने उनले जानकारी दिए ।
स्थापना दिवसको मुख्य कार्यक्रम मंसिर १६ गते हुनेछ । सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागि हुने विश्वविद्यालयले जनाएको छ । राष्ट्रपतिले केन्द्रीय पुस्तकालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ९ करोड २० लाखको लागतमा विश्वविद्यालयले केन्द्रीय पुस्तकालय निर्माण गरेको छ ।
विश्वविद्यालयका सूचना अधिकृत चुरामणि पोखरेलका अनुसार तीन तले पुस्तकालय भवनमा बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् ।
राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका ६ वटा पुस्तक लोकार्पाण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रम समेत राखिएको छ ।विश्विद्यालय दिवसको अवसरमा मंसिर १३ गते बुटवलको नयाँगाउँस्थित सिटी कलेजमा रक्तदान कार्यक्रम राखेको छ । त्यस्तै मंसिर १४ गते ८ बजे लुम्बिनीमा मुटृुरोग स्वास्थ्य शिबिर आयोजना गरेको छ । गंगालाल हृदयरोग केन्द्र र हर्ट टु हर्ट नेपालको सहकार्यमा हुने स्वास्थ्य शिबिरमा मुटुरोगसहित पेट, छात्ति तथा हार्डजोर्नीका १५ जना चिकित्सकहरु सहभागि हुनेछन् ।
मंसिर १४ नै शान्ति, समझदारी तथा दीगो विकासका लागि पत्रकारिता कार्यशाला गोष्ठी हुने रजिष्ट्रार आचार्यले जानकारी दिए । मंसिर १४ गते नै बुद्धमूृर्ति प्राण प्रतिष्ठा तथा स्तुपा पुजन कार्यक्रम रहेको छ । भिक्षु, भिक्षुणी, लामाहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । सोही दिन साझ दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।
मंसिर १६ गते शान्ति र शिक्षाका लागि साइकल यात्रा आयोजना हुने छ । बुटवलको सिटी कलेजबाट भैरहवा हुदै ७० जना साइकलयात्री लुम्बिनी पुग्ने जनाइएको छ ।
०६१ सालमा स्थापना भएको विश्वविद्यालयले ८ वर्षअघि लुम्बिनीमा पठनपाठन शुरु गरेको थियो ।
सो अवसरमा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले लुम्बिनी र बौद्ध शिक्षाको प्रवद्र्धनमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने बताए ।