२०८१ श्रावण १२

सांसद कोइरी फरार रहेको भन्दै प्रहरीद्वारा सभामुखलाई दोस्रो पत्र
  • लुम्बिनी खोज
  • २०८० बैशाख १८, सोमबार १०:२१ गते

काठमाडौँ १८ बैशाख ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीले एमाले सांसद लक्ष्मी महतो कोइरी फरार अवस्थामा रहेको जानकारी गराउँदै दोस्रो पत्र पठाएको छ ।  हत्या अभियोग लागेका सांसद कोइरी हाल फरार रहेको र निजको खोजी भइरहेकोबारे सभामुखलाई आइतबार दोस्रो पत्र पठाइएको प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले जानकारी दिए ।  यसअघि पनि उनी फरार रहेकोबारे सभामुखलाई जानकारी गराइएको कडायतले बताए । उनले भने– ‘सांसद कोइरीमाथि हत्या अभियोग लागेको, उनी हाल फरार रहेको र प्रहरीले खोजिरहेको बारे सभामुखलाई दोस्रोपटक जानकारी गराउँदै पत्र पठाएका छौँ ।’

प्रहरीले यसअघि नै पत्र पठाए पनि सभामुखले उनलाई निलम्बन गरेका थिएनन् । गत वैशाख १५ गते हिउँदे अधिवेशनको अन्तिम दिन फरार भएको अभियुक्तलाई बिरामी बिदाको लागि सभामुखले प्रस्ताव पेस गरेको भन्दै सांसदहरुले संसद्मा बबन्डर गरेका थिए । सांसदहरूको विरोधका कारण झन्डै ५ घण्टा प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको थियो । त्यसपछि भएको बैठकमा सभामुखले सांसद कोइरीबारे अर्को बैठकमा निर्णय लिने बताएका थिए ।

प्रहरी प्रधान कार्यालयबाट सांसद कोइरी हत्या अभियुक्त रहेको, हाल फरार रहेको र उनको बारेमा अदालतमा मुद्दा चलिरहेको बारे पत्रमार्फत सभामुखलाई जानकारी गराएपछि उनलाई निलम्बन गर्ने बाटो खुलेको छ । प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउसम्बन्धी व्यवस्था गरिएको छ । सो नियममा रहेको व्यवस्था अनुसार सभामुखलाई सांसद कोइरीबारे प्रहरीले गराएको पत्रअनुसार उनलाई निलम्बन गर्ने बाटो खुलेको छ । नियमावलीको नियम २४८ को उपनियम ३ अनुसार उनी पक्राउ नपरे पनि निलम्बित हुनेछन् ।