२०८१ श्रावण १२

उद्योगमैत्री वातावरण बनाऔं : प्रदेश प्रमुख शेरचन
  • लुम्बिनी खोज
  • २०७८ मंसिर १६, बिहीबार ०९:४८ गते

बुटबल १५ मंसिर । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकमा उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका छन ।

रुपन्देही उद्योग संघको ४४ औं स्थापना दिवसका अवसरमा रुपन्देही उद्योग संघको बुटवलमा आयोजित उद्योगी सम्मान तथा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार ०७७ वितरण समारोहमा उनले यस्तो बताएका हुन । नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक दल र उद्योगीमा रहेको परनिर्भर भावनाको अन्त्य हुनुपर्ने उनले धारणा राखे । प्रदेश प्रमुख शेरचनले राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी श्रमको सदुपयोग अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताउँदै वास्तविक धरातलमा बसेर चिन्तन गर्नुपर्ने बेला भएको बताए । राष्ट्रिय पूँजीको संरक्षण र विकासका लागि नीतिगतरूपमा स्पष्ट हुँदै वास्तविक राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न आग्रह गर्दै उनले प्रतिस्पर्धाको युगमा आफूलाई त्यसैअनुसार उभ्याउन सक्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बीनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले नेपालमा स्वदेशी उद्योगको स्थापना र विकासका लागि बनेका नीतिमा केही राम्रा कुरा भए पनि त्यसको सही कार्यान्वयन एवं प्रयोग गर्न नसकिएको धारणा राखेका थिए । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका लुम्बिनी प्रदेश संयोजक एजाज आलम, रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष रामराज पोखरेल, सङ्घका पूर्वअध्यक्ष डम्मरदेव अर्याल, उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, पत्रकार दामोदर खनाल, निवर्तमान अध्यक्ष बाबुराम बोहोरा,सम्मानित उद्योगी राजेन्द्रसिंह गुरुङ ,नेपाली कांग्रेसका जिल्ला सदस्य हरिप्रसाद अर्याललगायत बोल्दै प्रदेशको समृद्ध प्रदेशका लागि निजी उद्योगमैत्री नीति र वातावरण बनाउनुपर्नेमा जोड दिएका िथिए ।
कार्यक्रममा सङ्घले अग्रज उद्योगी भुपालकुमार श्रेष्ठ, वसन्तध्वज जोशी, स्व रतनलाल अग्रवाल, वसन्त लोहनी र राजेन्द्रसिंह गुरुङलाई सम्मान गरिएको थियो भने उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार दामोदर खनाललाई पुरस्कृत गरिएको थियो ।