२०८१ श्रावण १२

पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
  • लुम्बिनी खोज
  • २०८० बैशाख २०, बुधबार १७:२० गते

बुटवल २० बैशाख ।  नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । सुरक्षा स्रोतका अनुसार बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिएपछि काठमाडौँ प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको थियाे ।

मंगलबार ललितपुरबाट पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका थिए । त्यसअघि नै ५ जना पक्राउ परिसकेका थिए ।

शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा २०७९ चैत १२ मा प्रहरीले मोरङका केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुरका सानु भण्डारीलाई पक्राउ गरेको थियो । २०७९ चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।

ठगीमा संलग्न मुख्य योजनाकार दाङका सन्देश शर्मा पक्राउ परेपछि उनको बयानका आधारमा उच्च पदस्थ अधिकारीहरू पक्राउ पर्न थालेका हुन् । पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दै छ ।