२०८२ असार ६
काठमाडौ,२३ बैशाख ।
सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकता लगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा अधिवक्तासँग पनि प्रधानमन्त्रीले सुझाव लिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका सन्दर्भमा गठबन्धनको बैठकले विश्वास मत लिनु नपर्नेमा निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा समेत छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी भएका थिए । यस्तैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता भएका थिए ।